
दीपक बोहरा
दाङ, ८ असार ।
दाङ तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि २ अर्ब ४४ करोड ९५ लाख ९१ हजार रुपैयाँ बराबरको वार्षिक बजेट सार्वजनिक गरेको छ । उपमहानगरपालिकाको १९ औँ नगर सभाको अधिवेशनमा सोमबार नगर उपप्रमुख श्यानी चौधरीले“हाम्रो तुलसीपुर, राम्रो तुलसीपुर, खुसी जनता समृद्ध तुलसीपुर” भन्ने मूल नाराका साथ उक्त बजेट प्रस्तुत गरेकी हुन् ।
प्रस्तुत बजेटको कुल विनियोजनमध्ये चालु खर्चतर्फ १ अर्ब ३९ करोड ६० लाख २१ हजार (५७ प्रतिशत) र पूँजीगततर्फ १ अर्ब १ करोड ३८ लाख २८ हजार (४१ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ ४ करोड (१.६५ प्रतिशत) रहेको छ । आगामी वर्षका लागि खर्च व्यहोर्ने स्रोतहरूमा आन्तरिक स्रोतबाट ५४ करोड, संघीय सरकारको समानुकरण अनुदानबाट २८ करोड ७७ लाख, संघीय सशर्त अनुदानबाट ६७ करोड २३ लाख र गत वर्षको बैंक मौज्दातबाट ३० करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
बजेटमा स्वीकृत दरबन्दी बाहेकका करार र दैनिक ज्यालादारीमा रहेका कर्मचारी, बाल विकास सहजकर्ता, विद्यालयका लेखापाल र कार्यालय सहयोगीहरूको तलबमा १० प्रतिशत वृद्धि गर्ने प्रस्ताव गरिएको छ । त्यस्तै ०७४ साल भदौ अगाडि नियुक्त भएका अस्थायी तथा करार कर्मचारीका लागि मापदण्ड बनाएर स्वैच्छिक अवकाश योजना कार्यान्वयन गर्ने उल्लेख छ ।
सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि आँखाको नानी प्रयोग गर्ने व्यवस्था मिलाइने, फोहर व्यवस्थापन र नगर बस सञ्चालनमा सार्वजनिक निजी साझेदारी मोडल अपनाउने बजेटमा उल्लेख छ ।
त्यस्तै ‘स्मार्ट छोरी’कार्यक्रमका लागि ५० लाख, मुख्य बजारमा दुर्घटना न्यूनीकरण गर्न आकाशे पुल निर्माणका लागि ५० लाख, कृषि एम्बुलेन्सका लागि ६० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
यस्तै, सामुदायिक विद्यालयमा प्रविधिमैत्री कक्षा सञ्चालन, गरिब तथा विपन्न विद्यार्थीका लागि छात्रवृत्ति र स्वास्थ्य चौकीमा गर्भवती जाँच गराउन आउने महिलालाई प्रति पटक एक क्यारेट अण्डा वितरण गर्ने कार्यक्रमका लागि ८५ लाख रुपैयाँ प्रस्ताव गरिएको छ ।
आर्थिक विकासतर्फ कृषि क्षेत्रका लागि ३ करोड र पशु विकास सेवाका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ । उपमहानगरपालिकाले बजार क्षेत्रको फोहर व्यवस्थापनका लागि आधुनिक कम्प्याक्टर र आगलागी नियन्त्रणका लागि दमकल खरिद गर्न १/१ करोड रुपैयाँ विनियोजन गरेको छ ।



लाइभदाङ । ८ असार २०८३, सोमबार २०:४२ बजे