कुलोमा पानी ल्याउन पाँच हजारले गरे श्रमदान

प्रकाश पौडेल
बर्दिया,७ असार ।
बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा सिँचाइका लागि कुलोमा पानीको अभाव भएपछि किसानले श्रमदान गरेर पानी ल्याएका छन्। शनिबार दुई पालिकाका पाँच हजारभन्दा बढी किसानले श्रमदान गरी कुलोमा पानी ल्याएका हुन्। राजापुर नगरपालिका र गेरुवा गाउँपालिकालाई सरकारले धान सुपर जोन घोषणा गरेको छ । त्यसका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत धान लगानी समेत गरेको छ । परियोजना मार्फत सरकारले मल, बिउ, मेसिन उपलब्ध गराउदै आएको छ । भने पछिल्लो समय परम्परागत रुपमा सञ्चालनमा रहेको नहरलाई आधुनिकीकरण गर्न राजापुर सिँचाइ व्यवस्थापन कार्यालयले काम सुरु गरेको छ ।

कर्णाली नदीको पानी खेतबारीसम्म ल्याउनका लागि प्रत्येक वर्ष स्थानीयले घर घरबाट झालापाता प्रयोग गरेर नदीको बहाव परिवर्तन गरेर कुलोमा पानी ल्याउने गरिएको राजापुर नगरपालिका , २ नयाँ गाउँका बडघर मनिराम चौधरीले बताए । उनले भने, कुलोमा पानी ल्याउन वर्षैदेखि स्थानीयले काम यसरी नै सामुहिक रुपमा श्रमदान गर्दै आएका छन् । स्थानीयले गर्दै आएको श्रमदानले कुलोमा पानी ल्याउन सफल भए पनि अब सरकारले यसको दीर्घकालीन समस्या समाधानका लागि काम गर्नुपर्छ ।


गेरुवा गाउँपालिका, ३ तिनघरुवाका यज्ञ विक्रम शाहीले धान रोप्ने समयमा सिँचाइको अभाव हुन नदिन प्रत्येक वर्ष सामुहिक रुपमा श्रमदान गर्दै आएको बताए । उनले भने, ‘गेरुवा र राजापुरका किसानले ज्यानको बाजी राखेर पानी कुलोमा ल्याउन काम गर्दा समेत स्थानीय, प्रदेश र केन्द्रीय सरकारको आँखा अझै पुग्न सकेको छैन।’

गोला जल उपभोक्ता संस्थाका अध्यक्ष धन बहादुरले शाहीले दुई पालिकाका स्थानीयहरू ज्यानलाई जोखिममा राखेर वर्षेनी नदीको मुहान परिवर्तन गर्नका लागि काम गर्न जानुपर्ने बाध्यता रहेको बताए । उनले भने,  किसान कहिलेसम्म यसरी ज्यान हत्केलामा राखेर श्रमदान पार्नुपर्छ थाहा छैन् । सरकार सिँचाइको दीर्घकालीन व्यवस्थापन गर्नका लागि बजेट व्यवस्था गरेर काम गर्नुपर्छ ।