
घोराही, ७ असार ।
महिलाहरूमा देखिने स्वास्थ्य समस्याको समयमै पहिचान तथा उपचारमा पहुँच विस्तार गर्ने उद्देश्यले दाङको घोराहीमा एक दिने निःशुल्क महिला स्वास्थ्य परीक्षण तथा परामर्श सिविर सम्पन्न गरिएको छ। घोराही उपमहानगरपालिका–३ मा सञ्चालनमा रहेको संजीवनी टिचिङ हस्पिटलको प्राविधिक सहयोग, विकास नगर टोल, घोराही–१५ को आयोजना तथा मेचिकाली स्कुल घोराहीको सह–आयोजनामा उक्त स्वास्थ्य सिविर सम्पन्न भएको हो। कार्यक्रममा दुई सयभन्दा बढी महिलाले सेवा लिएको अस्पतालका प्रशासन अधिकृत सुशील रिजालले जानकारी दिनुभयो। कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी निश्चल राज पाण्डे प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यस्तै विशिष्ट अतिथिहरूमा डा।हेम बहादुर के।सी।, सन्तोष सुबेदी, अस्पतालका कार्यकारी प्रमुख दिपक रोका, प्रसूति तथा महिला रोग विशेषज्ञ डा। गोमा रिमाल, मेचिकाली विद्यालयका प्रिन्सिपल चक्र बहादुर रावत, अस्पताल व्यवस्थापक मदन प्रसाद पन्थी तथा पत्रकार गोविन्द खड्का लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने यस्ता कार्यक्रमको आवश्यकता रहेको उल्लेख गर्नुभयो। उहाँले विकास नगर टोल विकास संस्था, मेचिकाली विद्यालय तथा संजीवनी शिक्षण अस्पतालले महिला स्वास्थ्यलाई प्राथमिकतामा राखी कार्यक्रम सञ्चालन गरेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो।विशिष्ट अतिथि प्रहरी नायव उपरीक्षक डा। हेम बहादुर के।सी।ले महिलाका स्वास्थ्य समस्यालाई केन्द्रमा राखेर कार्यक्रम आयोजना हुनु सकारात्मक भएको बताउँदै समुदायमा स्वास्थ्य शिक्षा र प्रारम्भिक परीक्षणको पहुँच बढाउन यस्ता अभियान प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो।पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुबेदीले हालै सञ्चालनमा आएको संजीवनी शिक्षण अस्पतालले दाङसहित छिमेकी जिल्लामा निःशुल्क स्वास्थ्य सिविर सञ्चालन गरिरहेको उल्लेख गर्दै यस कार्यक्रमले पनि महिलाहरूलाई प्रत्यक्ष लाभ पुर्याएको बताउनुभयो।
अस्पतालका कार्यकारी प्रमुख दिपक रोकाले महिलाहरूमा देखिन सक्ने विभिन्न रोगलाई सुरुवाती चरणमै पहिचान गरी समयमै उपचार सुरु गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। उहाँले रोग पहिचान, कम समय र कम खर्चमा उपचार सम्भव बनाउन नियमित स्वास्थ्य परीक्षण र स्क्रिनिङ आवश्यक रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा प्रशिक्षण तथा स्वास्थ्य परामर्श दिँदै प्रसूति तथा महिला रोग विशेषज्ञ डा। गोमा रिमालले महिलाहरूमा पाठेघर खस्ने समस्या, फोहोर पानी बग्ने, महिनावारी गडबडी, पिसाब सम्बन्धी समस्या, पाठेघर तथा स्तन क्यान्सर, यौन रोग तथा नसर्ने रोगका विषयमा जानकारी प्रदान गर्नुभएको थियो। उहाँले धेरै महिला रोग प्रारम्भिक अवस्थामा स्पष्ट लक्षण नदेखिने भएकाले नियमित परीक्षणले शीघ्र पहिचान, जटिलता नियन्त्रण तथा सहज उपचारमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
कार्यक्रमका अध्यक्ष तथा विकास नगर टोल विकास संस्थाका अध्यक्ष बेचन वली ले कार्यक्रम सफल बनाउन सहयोग गर्ने संजीवनी अस्पताल, मेचिकाली विद्यालय परिवार, टोल विकास समितिका पदाधिकारी, आमा समूह तथा सम्पूर्ण सहयोगीप्रति धन्यवाद व्यक्त गर्नुभयो। कार्यक्रमको सञ्चालन सचिव दिपक वली ले गर्नुभएको थियो भने स्वागत मन्तव्य विकास नगर आमा समूहकी अध्यक्ष जानका रेग्मी ले राख्नुभएको थियो। कार्यक्रम निर्धारित समय बिहान १० बजे नै सुरु गरी व्यवस्थित रूपमा सम्पन्न गरिएको थियो। सहभागी तथा अतिथिहरूले समय पालन र व्यवस्थापनको प्रशंसा गर्दै घोराही उपमहानगरपालिका भित्र टोल विकास संस्थाबाट गरिएको यस्तो स्वास्थ्यमुखी पहल उदाहरणीय भएको बताएका थिए। उनीहरूले विकास नगर टोलले थालेको अभियानबाट अन्य टोल विकास संस्थाले पनि प्रेरणा लिन सके समुदायस्तरमा स्वास्थ्य सेवाको पहुँच अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरेका छन्।



लाइभदाङ । ७ असार २०८३, आईतवार १७:२१ बजे