
दंगीशरण, ३ पौष ।
दंगीशरण गाउँपालिकाको योजना शाखाद्वारा उपभोक्ता समितीहरूका लागि योजना सम्बन्धी अभिमुखिकरण कार्यक्रम वडा नं. ५ को नन्द्रागाउँमा सम्पन्न भएको छ। आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार गाउँपालिकाले ७ वटै वडामा उपभोक्ता समितीका पदाधिकारीहरूलाई लक्षित गरी अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको हो।
बिहीबार सम्पन्न कार्यक्रममा उपभोक्ता समिती गठनदेखि योजना कार्यान्वयन तथा भुक्तानी प्रक्रियासम्म देखिने समस्या समाधान गर्ने उद्देश्य रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपालीले जानकारी दिए ।
गाउँपालिकाका लेखा अधिकृत ध्रुवराज न्यौपानेले उपभोक्ता समितीका पदाधिकारीहरूले योजना कार्यान्वयनका क्रममा भोग्दै आएका व्यवहारिक कठिनाइलाई मध्यनजर गर्दै सबै ७ वटै वडामा अभिमुखिकरण कार्यक्रम सञ्चालन थालिएको बताए।
कार्यक्रमको उद्घाटन सत्रमा गाउँपालिका अध्यक्ष शम्भु गिरीले अभिमुखिकरणबाट भुक्तानी प्रक्रियामा देखिने समस्या न्यूनीकरण हुने विश्वास व्यक्त गर्नुभयो। साथै उनले विकास निर्माणका कार्यमा श्रमदानमार्फत स्थानीयवासीको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिए।
त्यसैगरी गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले उपभोक्ता समितीका पदाधिकारीहरू जानेर वा नजानेर विभिन्न झमेला र समस्या भोग्नुपरेको बताए।
कार्यक्रम वडा नं.५ का वडा अध्यक्ष निरज बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो। उद्घाटन सत्रमा गाउँपालिका अध्यक्ष शम्भु गिरी प्रमुख अतिथि, उपाध्यक्ष पिमा वलि खड्का विशिष्ट अतिथि तथा प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपाली विशिष्ट अतिथिका रूपमा उपस्थित रहेएका थिए।
अभिमुखिकरण तालिमका प्रमुख प्रशिक्षक लेखा अधिकृत ध्रुवराज न्यौपाने र योजना सहायक सन्तोष चौधरी रहनुभएको थियो भने कार्यक्रमको सहजीकरण योजना शाखा प्रमुख भक्तिराम पाण्डेले गर्नुभएको थियो।
गाउँपालिकाले आगामी दिनमा बाँकी सबै वडामा समेत यस्ता अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।



लाइभदाङ । ३ पुष २०८२, बिहीबार २१:०९ बजे