तुलसीपुरको नीतिः घर निर्माणको प्रमाणपत्र लिन अनिवार्य रुख रोप्नु पर्ने(पूर्ण पाठ)

तुलसीपुर, ६ असार ।
दाङ तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ‘हाम्रो तुलसीपुर, राम्रो तुलसीपुरः खुसी जनता, समृद्ध तुलसीपुर’ भन्ने मूल नाराका साथ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रममा ‘शून्य नगद कारोबारको नीति अवलम्बन गर्ने घोषणा गरेको छ । जसअन्तर्गत सबै वडा कार्यालयहरूबाट अनिवार्य रूपमा अनलाइन रसिद काटिने र डिजिटल भुक्तानीलाई मात्र मान्यता दिइनेछ । त्यस्तै पालिकामा सञ्चालित ‘स्मार्ट छोरी’ कार्यक्रमलाई थप व्यवस्थित बनाइने उल्लेख गरिएको छ ।

वातावरण संरक्षणमा नयाँ प्रयोग गर्दै उपमहानगरपालिकाले अब नयाँ घर निर्माण सम्पन्नताको प्रमाणपत्र लिनका लागि अनिवार्य रूपमा कम्तीमा एउटा तुलसीको बिरुवा वा औषधीय महत्वको वनस्पति रोपेको हुनुपर्ने नीति ल्याएको छ । पालिका प्रमुख टिकाराम खड्काले शुक्रबार ल्याएको नीति अनुसार स्वास्थ्य क्षेत्रमा ‘मेयर स्वस्थ मुटु अभियान’ र यातायात मजदुरहरूका लागि ‘स्वस्थ चालक, सुरक्षित यात्रा’ जस्ता कार्यक्रमहरू समेटिएका छन् ।


प्रशासनिक सुधारका लागि वडा तहसम्म ‘घुम्ती स्थानीय सरकार’ सञ्चालन गर्ने र जनताका गुनासा सुन्न ‘हेलो जनता’ कार्यक्रमलाई प्रभावकारी बनाउने लक्ष्य लिइएको छ । त्यस्तै दाङको स्थानीय वास्तुकला झल्काउने गरी भवन निर्माण गर्न प्रोत्साहित गर्ने र ऐतिहासिक शैलीका डिजाइन पुस्तक उपलब्ध गराउने, उपमहानगरपालिकालाई उपयोगी हुने विषयमा खोज तथा अनुसन्धान गर्न युवाहरूलाई प्रोत्साहन दिने, उत्पादित कृषिजन्य वस्तुलाई सहज रूपमा बजारसम्म पु¥याउन कृषि एम्बुलेन्सको प्रबन्ध गर्ने, फुटपाथ व्यापारलाई व्यवस्थित गर्न निश्चित स्थान र समयमा‘पप–अप बिजनेस’ वा अस्थायी मार्केट जोन सञ्चालन गर्ने, ज्येष्ठ नागरिकहरूको सम्मानका लागि ‘मेयर कोसेली’ कार्यक्रमलाई निरन्तरता दिने नीति ल्याएको छ ।