
दंगीशरण,२७ जेठ।
दंगीशरण गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा पूर्णखोप तथा पूर्ण संस्थागत प्रसूति सेवा युक्त पालिका सुनिश्चितता तथा दिगोपना एवं स्वस्थ शिशु प्रतिस्पर्धा कार्यक्रम गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ। बुधबार आयोजित एक भव्य समारोहबीच दंगीशरण गाउँपालिकालाई दाङ जिल्लाकै पहिलो पूर्णखोप तथा पूर्ण संस्थागत प्रसूति सेवा युक्त पालिकाका रूपमा घोषणा गरिएको हो।
कार्यक्रम गाउँपालिका अध्यक्ष शम्भु गिरीको अध्यक्षता, जिल्ला समन्वय समिति दाङका उपाध्यक्ष चेतना चौधरीको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिकाका सातवटै वडाका महिला स्वास्थ्य स्वयंसेविकाहरू, विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरू तथा स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो। साथै, स्वस्थ शिशु प्रतिस्पर्धामा सहभागी २८ जना शिशुमध्ये उत्कृष्ट स्वास्थ्य अवस्था भएका चार जना शिशुलाई नगद पुरस्कार र प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदीप योगीका अनुसार स्वस्थ शिशु प्रतिस्पर्धामा सहभागी शिशुहरूको मूल्याङ्कन विभिन्न सूचकका आधारमा गरिएको थियो। प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपालीको संयोजकत्वमा गठित समितिअन्तर्गत जनस्वास्थ्य अधिकृत स्वीकृति देवकोटा संयोजक रहेको समितिले उत्कृष्ट शिशु छनोट गरी नगद तथा प्रमाणपत्रसहित सम्मान गरेको हो। सोही अवसरमा गाउँपालिकाका सातवटै वडालाई सम्मान गर्नुका साथै लामो समयसम्म महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा सेवा पुर्याई अवकाश प्राप्त गर्नुभएका स्वयंसेविकाहरूलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपाली, जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख टी।बी। गुरुङ लगायतले स्वास्थ्य सेवाको गुणस्तर, खोप अभियानको महत्व तथा संस्थागत प्रसूतिको आवश्यकताबारे आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो।
आधारभूत स्वास्थ्य सेवा केन्द्र रामपुरका प्रमुख दामोदर शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख प्रदीप योगीले गर्नुभएको थियो।



लाइभदाङ । २७ जेष्ठ २०८३, बुधबार १९:२९ बजे