
घोराही,२७ जेष्ठ ।
गुरुकुल एकेडेमी दाङ प्रा. लि. ले आफ्ना विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै दुर्घटना बीमा सुविधा लागू गरेको छ । विद्यालयका प्रधानाध्यापक प्रदीप राजभण्डारी ले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि बीमा पोलिसी जारी गरिएको जानकारी दिनुभएको हो ।
विद्यालयका अनुसार विद्यार्थीहरू विद्यालय आउँदा–जाँदा, खेलकुद गतिविधि तथा अन्य विभिन्न दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै बीमा योजना लागू गरिएको हो । उक्त योजना अन्तर्गत दुर्घटनाबाट उपचार गर्नुपरेमा प्रतिविद्यार्थी अधिकतम एक लाख रुपैयाँसम्म उपचार खर्च उपलब्ध गराइनेछ भने दुर्घटनाबाट मृत्यु भएमा एक लाख २० हजार रुपैयाँसम्म क्षतिपूर्ति प्रदान गरिने व्यवस्था गरिएको छ ।
यो बीमा सुविधा सडक दुर्घटना, सवारी दुर्घटना, खेलकुदका क्रममा हुने दुर्घटना लगायत अन्य आकस्मिक दुर्घटनामा समेत लागू हुने जनाइएको छ । विद्यालय प्रशासनका अनुसार बीमा दाबी गर्न न्यूनतम दुई हजार पाँच सय रुपैयाँ बराबरको उपचार बिल अनिवार्य हुने व्यवस्था गरिएको छ । साथै, बीमाको अवधि एक वर्ष रहने र तोकिएको सीमा भित्र पटक–पटक दाबी गर्न सकिने व्यवस्था रहेको बताइएको छ ।
बीमा योजना नेपालभित्रका सरकारी तथा निजी अस्पतालमा लागू हुने विद्यालयले जनाएको छ । दुर्घटना वा अस्पताल भर्ना भएको ३५ दिनभित्र himalayan everest insurance अथवा esewa मार्फत मार्फत जानकारी गराई क्लेम दर्ता गरिसक्नुपर्ने व्यवस्था रहेको छ । समयमै जानकारी नदिए बीमा दाबी प्रक्रियामा समस्या आउन सक्ने विद्यालयले जनाएको छ ।
बीमा दाबीका लागि डाक्टरको प्रिस्क्रिप्शन, डिस्चार्ज समरी वा अस्पताल सम्बन्धी कागजात, दाबी फाराम, दुर्घटना उपचार खर्चका बिल, विद्यार्थीको जन्मदर्ता वा अभिभावकको नागरिकता तथा सडक दुर्घटनाका हकमा प्रहरी प्रतिवेदन आवश्यक पर्ने बताइएको छ ।
यद्यपि, नियमित ओपिडी चेकअप, पहिलेबाट रहेका रोगको उपचार तथा नेपाल बाहिर गरिएको उपचार लगायतका केही सेवाहरू भने यस बीमा योजनाअन्तर्गत समावेश नहुने बीमा कम्पनीले स्पष्ट पारेको छ ।
विद्यालयले यो योजना विद्यार्थी र अभिभावकका लागि राहत तथा सुरक्षा प्रदान गर्ने विश्वास व्यक्त गरेको छ । आकस्मिक दुर्घटनाको अवस्थामा आर्थिक भार कम गर्न तथा विद्यार्थीलाई सुरक्षित वातावरण प्रदान गर्न बीमा कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको विद्यालय प्रशासनले जनाएको छ ।



लाइभदाङ । २७ जेष्ठ २०८३, बुधबार ११:२९ बजे