दाङमा रोकिराखेको ट्रकसंग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ,२६ जेठ ।
दाङमा मोटरसाइकल ट्रकसंग ठोक्किदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भिर घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका–५ रातोडाँडामा बिग्रिएर रोकिराखेको ट्रकको पछाडि मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक लमही नगरपालिका–७ हस्नापुर निवासी अन्दाजी ३७ वर्षीय जीवन गिरीको मृत्यु भएको हो ।

गम्भिर घाइते गिरीलाई लमही अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । मोटरसाइकल दुर्घटनामा सवार अन्दाजी ३२ वर्षीय धनिराम चौधरी गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी डा। हेमबहादुर केसीले जानकारी दिनुभयो ।


घाइते चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । दुर्घटना मंगलबार आज बिहान करिब ४ बजेतिर भएको हो । सडकमा बिग्रिएर रोकिराखेको ना ५ ख ९३३६ नम्बरको ट्रकको पछाडीबाट लु १२ प ९८४० नम्बरको मोटरसाइकल ठोक्किएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।