लिटिल हेभनका विद्यार्थी वातावरण दिवस मनाउन बनमा पुगे

तुलसीपुर,२२ चैत ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित लिटिल हेभन इग्लिस मिडियम सेकेन्डरी स्कुलका विद्यार्थीहरु विश्व वातावरण दिवस मनाउन बनमै पुगेका छन् । शुक्रबार परेको दिवसलाई मनाउन कक्षा ७,८,९ र १० का विद्यार्थीहरु तुलसीपुर ९ स्थित महालक्ष्मी सामुदायिक बनमै पुगेका हुन् । वातावरण भनेको बनसंग पनि जोडिने भएकाले विद्यार्थीहरुले बनमा पुगेर कार्यक्रम गरेका हुन् । पछिल्लो समय जलबायु परिबर्तनको नकारात्मक असर परिरहेको भन्दै बन जोगाउनु पर्ने कक्षा १० की विद्यार्थी मनिता थापाको भनाई छ ।

विद्यार्थीहरुले सोही सामुदायिक बनमा रहेको राधा कृष्ण मन्दिरको सरसफाई समेत गरेका थिए । उनीहरुले जथाभावी प्लाष्टिक फाल्ने नहुँने तथा वरपरको वातावरण सरसफाई गर्नुपर्छ, भन्ने सन्देश दिन यस्तो कार्य गरिएको विद्यार्थीहरुको भनाई छ । त्यस अवसरमा विद्यालयका प्रिन्सिपल कमल सापकोटाले विद्यार्थीहरुलाई किताबी कुराहरु मात्रै नभएर यसरी ब्यबहारिक शिक्षा दिन फिल्डमा ल्याएको बताए । उनले वातावरण दिवस विद्यालयमा भन्दा पनि बनजंगलमा लगेर मनाउँदा त्यसले विद्यार्थीहरुमा बनको महत्व उजागर हुने बताए । त्यस्तै सामुदायिक बनका अध्यक्ष डीवी भण्डारीले जलबायु परिबर्तनले गर्दा वातावरणमा ह्रास आउन थालेको भन्दै यसलाई सबैले ध्यान दिनुपर्ने बताए । त्यस्तै पत्रकार दीपक बोहराले जलबायुलाई अनुकूलन बनाउनकालागि बनजंगल संरक्षण गर्नुपर्ने बताए । त्यस अवसरमा कक्षा ९ का एसिका केसी, कक्षा १० का विश्वास डाँगीले आफ्नो भनाई राखेका थिए । प्रिन्सिपल कमल सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण कक्षा ८ की छात्रा एञ्जल बुढाथोकीले गरेकी थिइन् । कार्यक्रममा स्थानीय बनका पदाधिकारी, मन्दिरका पदाधिकारी, शिक्षकहरुसहितको सहभागिता रहेको थियो ।


विद्यालयले प्रत्येक बर्ष वातावरण दिवसको अवसरमा यस्तै रचनात्मक कार्य गर्दै आएको थियो । अघिल्लो बर्ष तुलसीपुरको सितलपुर स्थित मसानघाटमा सरसफाई गरिएको थियो । त्यस्तै यस बर्ष बनमा कार्यक्रम गरिएको भन्दै अर्को बर्ष पनि यस्तै रचनात्मक कार्य गरिने विद्यालयले जनाएको छ । प्रत्येक बर्ष फरक–फरक स्थानमा विद्यार्थीहरुलाई लैजाने प्रिन्सिपल सापकोटाको भनाई छ । यसले विद्यार्थीहरुलाई सकारात्मक उर्जा प्रदान गर्ने उनको भनाई छ ।