धारपानीमा महाशिवरात्री मेला सुरु

विमल योगी
दाङ,५ फागुन ।
दाङको प्रशिद्ध तिर्थ स्थल धारपानीमा आजदेखी महाशिवरात्री मेला सुरु भएको छ । बिगतका बर्षमा शिवरात्रीका दिन मेला लाग्दै आएकोमा यस बर्ष ३ दिन सम्म मेला सञ्चालन गर्ने मन्दिर व्यवस्थापन समितिले निर्णय गरेको थियो ।

जस अनुशार आज बिहानैदेखी सयौं भत्तजन तथा व्यापारीहरुको चहल पहल सुरु भएको छ । मेलालाई व्यवस्थित बनाउन बिभिन्न उपसमिति गठन गर्नुका साथै सुरक्षा व्यवस्था समेत मजबुत पारिएको पाण्डवेश्वर महादेव मन्दीर व्यवस्थापन समितिका सचिव तथा प्रवत्ता विष्णुराम आचार्यले जानकारी दिनुभयो ।

मेलालाई भव्य र व्यवस्थित बनाउन १८ वटा बिभिन्न उप समिति गठन गरी परिचालन गरिएको छ । मेलामा यातायात व्यवस्थापन अन्तरगत पार्किङ शुल्क र व्यापारका लागि स्टलको दररेट समेत तोकिएको छ ।


यस्तै मेला अवधिभर फागुन ५,६ र ७ गतेका लागि मोटरसाइकिलका लागि रु १०,अटो रिक्सा तथा टेम्पोका लागि रु २५,जिप तथा कारका लागि रु ३०,सानो ठुलो टेक्टरका लागि रु ५० र मिनि वस,वस तथा ट्रकका लागि एक सय रुपैया पार्किङ शुल्क तोकिएको छ ।

मेलामा मदिरा बेचबिखन तथा सेवनलाई निषेध समेत गरिएको छ । फाुगन ४ गते राती १२ बजेदेखी फागुन ७ गते राती १२ वजे सम्म पूर्वमा धार्मिक बनको सिमाना भलाई सोता,पश्चिममा पिच सडक,उत्तरमा बवई नदि र दक्षिणमा धार्मिक बन सिमाना सम्म मदिरा जन्य वस्तुको बेचबिखन तथा सेवनमा निषेध गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारीले जानकारी दिनुभयो ।