
दाङ, २२ जेठ ।
दाङमा प्रहरीले ब्राउन सुगर जस्तो देखिने लागुऔषधसहित दुई छुट्टाछुट्टै घटनामा ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङ र वडा प्रहरी कार्यालय घोराहीबाट खटिएका प्रहरी टोलीले घोराही उपमहानगरपालिकाका विभिन्न स्थानबाट ४२० मिलिग्राम लागुऔषध बरामद गरेको जनाएको छ ।
प्रहरीका अनुसार पहिलो घटनामा घोराही उपमहानगरपालिका–१५ जानकी टोलमा ब्राउन सुगरको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । उक्त स्थानबाट प्रहरीले प्यूठान स्वर्गद्वारी नगरपालिका–३ भिङ्ग्री निवासी २८ वर्षीय उत्तम सुनार, घोराही उपमहानगरपालिका–५ धर्नाका २५ वर्षीय विपिन केसी, सोही स्थान रतनपुरका २५ वर्षीय पुष्कर भण्डारी तथा रोल्पा सुनिलस्मृति गाउँपालिका–५ काभ्राका २९ वर्षीय किरण थापालाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरू बसेको कोठा तथा शरीर खानतलासी गर्दा खुकुरी चुरोटको बट्टाभित्र लुकाइराखिएको अवस्थामा रातो र हरियो प्लास्टिकमा प्याक गरिएको दुई पुडिया ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको जनाएको छ । प्लास्टिक हटाएर गरिएको शुद्ध तौलमा उक्त पदार्थ ३४० मिलिग्राम रहेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, दोस्रो घटनामा वडा प्रहरी कार्यालय घोराहीबाट प्रहरी निरीक्षकको कमाण्डमा स्वीप अपरेशनमा खटिएको टोलीले घोराही उपमहानगरपालिका–१४ नयाँ बजार क्षेत्रबाट दुई जनालाई नियन्त्रणमा लिएको थियो । शंकास्पद रूपमा सडकमा हिँडिरहेका घोराही–१८ अम्बापुर निवासी २८ वर्षीय विजय पोख्रेल र घोराही–१५ आइरनगेट टोल निवासी १८ वर्षीय प्रदीप सुनारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूको शरीर तथा साथमा रहेको सामान खानतलासी गर्दा स–साना दुई पुडियामा राखिएको ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला परेको थियो । प्लास्टिक हटाएर गरिएको शुद्ध तौलमा उक्त पदार्थ ८० मिलिग्राम रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीले जिल्लामा लागुऔषध नियन्त्रण तथा रोकथाम अभियानलाई तीव्र बनाइएको र शंकास्पद गतिविधिमाथि निगरानी बढाइएको जनाएको छ ।




लाइभदाङ । २२ जेष्ठ २०८३, शुक्रबार १९:२५ बजे