एआई एक्सरे प्रविधिबाट राप्तीमा क्षयरोग खोजपड्ताल शिविर सञ्चालन हुने

मसुरिया,२० जेठ।
दाङको राप्ती गाउँपालिकामा एआई एक्सरे प्रविधिमार्फत सक्रिय क्षयरोग खोजपड्ताल तथा निःशुल्क परीक्षण शिविर सञ्चालन हुने भएको छ।

राप्ती गाउँपालिकाको आयोजना, बीएनएमटी नेपाल र नाटाको प्राविधिक सहयोग तथा समन्वयमा सञ्चालन हुने शिविरमा पोर्टेबल एक्सरे मेसिनमार्फत क्षयरोगको प्रारम्भिक परीक्षण गरिनेछ।

गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै क्षयरोगका लक्षण देखिएका तथा जोखिम समूहका नागरिकलाई शिविरमा सहभागी हुन आग्रह गरेको छ।

सूचनाअनुसार जेठ २३ गते शुक्रबार राप्ती गाउँपालिका–१ भालुवाङस्थित लालमटिया स्वास्थ्य चौकीमा तथा जेठ २४ गते शनिबार वडा नं.५ कालापानी स्थित राप्ती आधारभूत अस्पतालमा शिविर सञ्चालन हुनेछ।

शिविर विशेषगरी १५ वर्षभन्दा माथिका नागरिक, क्षयरोगीको सम्पर्कमा आएका व्यक्ति, मधुमेह, क्यान्सर,एचआईभी एड्स जस्ता रोगबाट प्रभावित व्यक्तिहरू, धूम्रपान तथा लागुपदार्थ सेवन गर्ने व्यक्ति, अंग प्रत्यारोपण गरेका व्यक्ति तथा विभिन्न उद्योग–कलकारखानामा कार्यरत मजदुरलाई लक्षित गरिएको छ।


लामो समयसम्म लगातार खोकी लाग्ने, ज्वरो आउने, तौल घट्ने, खानामा रुचि नहुने, छाती दुख्ने, खकारमा रगत देखिने तथा अत्यधिक थकान महसुस हुने जस्ता लक्षण भएका व्यक्तिहरूलाई अनिवार्य रूपमा परीक्षण गराउन आग्रह गरिएको छ।

शिविर बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने र सेवाग्राहीलाई निःशुल्क सेवा उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकद्वारा जारी सूचनामा क्षयरोग नियन्त्रण तथा समयमै पहिचानका लागि सबै सरोकारवालाको सहयोग आवश्यक रहेको उल्लेख गरिएको छ।