बालबालिकाहरुलाई फागुन २२ देखि दादुरा रुबेला विरुद्धको खोप दिइने

दाङ, १८ फागुन ।
तुलसीपुर उपमहानगरपालिकाले दादुरा–रुबेला खोप अभियान २०८०/८१ लाई सफल पार्न सवै सरोकारवालाहरुलाई आग्रह गरेको छ । यहि फागुन २२ गते देखि चैत ४ गते सम्म तुलसीपुर उपमहानगरपालिकाले ६० हजार छ सय ६४ जना ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरुलाई दादुरा रुबेला विरुद्धको खोप दिईने जनाएको छ ।

तुलसीपुर उपमहानगरपालिका जन स्वास्थ्य प्रवर्धन शाखा तुलसीपुरको आयोजनामा दादुरा रूबेला खोप अभियान सम्बन्धि छलफल कार्यक्रममा सो जानकारी गराएको हो । गतवर्ष दाङ जिल्लामा ३९ जनालाई दादुरा रोग देखिएको थियो भने तुलसीपुर उपमहानगरपालिकामा मात्रै ११ जनामा देखा परेको बताएको थियो ।

बाल रोग विशेषज्ञ डाक्टर किशोर खत्रीले एक जना दादुरा रोगको बिरामीबाट १८ जना सम्मलाई सर्ने गरेको बताए । यो खोप कार्यक्रम उत्कृष्ट भएको भन्दै दादुरा र रूवेलाको जिवानुले शरिरमा रोगसंग लडने रक्षा प्रणालिलाई कमजोर पार्ने भएकाले यस विरुद्धको खोप सवैले लगाउनु पर्ने बताए । उनले यस अभियानलाई सफल पार्न सवैलाई आग्रह गरे ।


कार्यक्रममा जन स्वास्थ्य प्रवर्धन शाखाका प्रमुख ओमप्रकास न्यौपानेले आगामी सन् २०२६ भित्र नेपाललाई दादुरा–रुबेला उन्मूलन गर्ने सरकारको लक्ष्य हासिल गर्न नगरका स्वास्थ्यकर्मी, स्वयंसेविका, जनप्रतिनिधि, पत्रकार र सरोकारवाला निकायले साथ र सहयोग गर्न आग्रह गरेका छन् । उनले शिक्षक, जनप्रतिनिधि, स्वास्थ्यकर्मी गरि करिव ५ सयलाई अभिमुखिकरण कार्यक्रम गरेको बताए ।

त्यस्तै जनस्वास्थ्य प्रवर्धन शाखाका सम्पर्क व्यक्ति विमल केसीका अनुसार गतवर्ष ५७ हजार लक्ष्य राखिएकोमा ५६ हजार सात सय ४४ जना अर्थात ९९.६ प्रतिशत बालबालिकाहरूलाई खोप लगाइएको बताए । उनका अनुसार एड्स, क्षयरोग, उच्च ज्वरो आएको अवस्थामा बाहेक अन्य अवस्थामा बालबालिकाहरुलाई खोप दिन सकिनेछ । तुलसीपुर उपमहानगरपालिकामा ९ महिना देखि १५ वर्षका बालबालिकाहरूलाई विद्यालय, स्वास्थ्य संस्था र वडामा खोप लगाउने कार्यक्रम अन्तर्गत जनशक्ति समेत सवै तयारी अवस्थामा रहेको बताए ।

सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतको अध्यक्षता तथा नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यमा भएको खोप समन्वय समिति, संचारकर्मि र सरोकारवालाहरूसंगको अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख टीकाराम खड्काले नेपाल सरकारले नै थालेको अभियानमा स्थानीय सरकारको तर्फबाट खोप अभियानलाई पूर्णरुपमा सफल पार्नका लागि सम्पूर्ण जनशक्ति तयार पारिएको बताए । उनले खोप अभियानलाई सम्पूर्ण अभिभावकहरुले सहयोग गरे मात्रै बालबालिका स्वस्थ हुने बताए ।