
दाङ,२० जेठ ।
दाङको तुलसीपुर उपमहानगरपालिका–३ दमारागाउँबाट प्रहरीले ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले मंगलबार छापा मार्ने क्रममा २७ वर्षीय बरुण गुरुङलाई नियन्त्रणमा लिएको हो।
प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले गुरुङको घर तथा शरीर खानतलासी गर्दा उनको साथबाट १ ग्राम ९६० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ बरामद गरेको जनाएको छ। बरामद पदार्थ लागूऔषध ब्राउन सुगर भएको आशंकामा प्रहरीले परीक्षण तथा थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका गुरुङ तुलसीपुर उपमहानगरपालिका–३ निवासी हुन्। उनलाई नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
दाङ जिल्लामा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरणका गतिविधि नियन्त्रण गर्न प्रहरीले निगरानी बढाएको जनाएको छ। विशेष सूचनाका आधारमा विभिन्न स्थानमा चेकजाँच, निगरानी तथा खोजतलास अभियान सञ्चालन भइरहेका छन्।
प्रहरीले लागूऔषध दुव्र्यसन तथा कारोबार समाजका लागि गम्भीर चुनौती बन्दै गएको उल्लेख गर्दै यस्ता गतिविधिमा संलग्न व्यक्तिविरुद्ध कानुनी कारबाहीलाई निरन्तरता दिइने जनाएको छ। साथै, लागूऔषध सम्बन्धी कुनै सूचना वा शंकास्पद गतिविधि देखिए नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरिएको छ।




लाइभदाङ । २० जेष्ठ २०८३, बुधबार २०:२६ बजे