म्याद नाघेका सामान राख्ने तुलसीपुरको एक डेरी सिल

तुलसीपुर(दाङ), १९ जेठ । दाङ तुलसीपुर स्थित म्याद नाघेका बस्तु राख्ने एक डेरी उद्योगलाई सिल गरिएको छ ।

तुलसीपुर–१७ लालपुरस्थित ढकाल बेकरी एण्ड कफी सपमा म्याद नाघेका तथा गुणस्तरहीन खाद्य वस्तुहरू भेटिएपछि सिलबन्दी गरिएको हो ।

उक्त डेरीले न्यूनतम मापदण्डसमेत पूरा नगरेको पाइएको थियो । त्यस्तै तुलसीपुर स्थित हाम्रो पहुँच डेरीमा ढुसी लागेका डेरीका परिकारहरु भेटिएपछि नष्ट समेत गरिएको थियो ।


तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखा र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुरको संयुक्त टोलीले अनुगमनका क्रममा यस्तो भेटाएको थियो ।

टोलीले सोमबार तुलसीपुर बजार र विजौरी क्षेत्रका डेरी उद्योगहरुको अनुगमन गरेको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाका प्रमुख राजु श्रेष्ठले बताए ।