दाङमा साढे ७ केजी चरेससहित दुईजना पक्राउ

दाङ
२४ माघ / दाङमा साढे ७ केजी चरेससहित दुईजनालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङले सोमबार पत्रकार सम्मेलन गरि उनीहरुलाई सार्वजनिक गरेको हो । रुकुम पूर्व भूमे गाउँपालिका वडा नं. ९ चुनबाङ घर भई घोराही उपमहानगरपालिका वडा नं. १४ बसपार्कमा डेरा गरि बस्ने ५० बर्षीय दलबहदुर कामीको काठाबाट ७ केजी ७७९ ग्राम (१६ पिस) लागु औषध चरेश बरामद गरिएको हो ।


गोप्य सूचनाका आधारमा खोजतलास गर्दा आईतबार राति ११ बजे उक्त परिमाणको चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरशे काफ्लले बताए । उनका अनुसार सोही कामी र रुकुमपूर्व भूमे गाउँपालिका वडा नं. ९ घरभई हाल घोराही उपमहानगरपालिका वडा नं.१८ गिठेपानी बस्ने ५९ बर्षीय कर्णबहादुर पुनलाई पक्राउ गरिएको हो ।

पुनलाई फोन कल तथा सोधपुछका आधारमा पक्राउ गरिएको हो । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।