प्यूठान–रोल्पामा विद्युत आपूर्ति अवरुद्ध भएपछि मुख्यमन्त्री आचार्यद्वारा तत्काल सुचारु गर्न ध्यानकर्षण

दाङ, १२ जेठ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्यूठान र रोल्पा जिल्लामा दुई दिनदेखि विद्युत आपूर्ति अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको भन्दै तत्काल वैकल्पिक उपाय अपनाएर भए पनि सेवा सुचारु गर्न नेपाल विद्युत प्राधिकरण बुटवल प्रादेशिक कार्यालयको ध्यानाकर्षण गराउनुभएको छ ।


झिमरुक उत्पादन केन्द्रको पावर हाउसमा ट्रान्सफर्मर बिग्रिएपछि प्यूठान र रोल्पामा विद्युत सेवा बन्द भएको हो । विद्युत अवरुद्ध हुँदा खानेपानी, स्वास्थ्य तथा बैंकिङ लगायतका सेवा समेत प्रभावित बनेका छन् । मुख्यमन्त्री आचार्यले नेपाल विद्युत प्राधिकरण बुटवल प्रादेशिक कार्यालयका प्रमुख मनोज कुमार यादवसँग छलफल गर्दै समस्या समाधानमा तत्काल सक्रिय हुन आग्रह गर्नुभएको हो ।

‘विद्युत नहुँदा जनजीवन प्रभावित छ । यो समस्या हल गर्न तत्काल ध्यान दिनुपर्ने देखियो,’ मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘खानेपानी, स्वास्थ्य र बैंकिङ क्षेत्रमा ठूलो असर परेको छ ।’ प्रमुख यादवले आफु फिल्डमै रहेको र आज बेलुकासम्म वैकल्पिक उपायमार्फत विद्युत सेवा सञ्चालन गर्ने प्रयास भइरहेको जानकारी मुख्यमन्त्रीलाई दिनुभएको थियो । साथै झिमरुक पावर हाउसमा मर्मत कार्यसमेत तीव्र रुपमा अघि बढाइएको जनाइएको छ ।