तुलसीपुरमा दमकल नभएपछि गाडीमा लागेको आगो निभाउनै धौ

तुलसीपुर, ९ जेठ ।
दाङको तुलसीपुर स्थित एक सार्वजनिक बसमा आगलागी भएको छ । तुलसीपुर ९ दोधरे स्थित ग्यारेजमा राखेको अबस्थामा शनिबार साँझ ८ बजेतिर आगलागी भएको हो ।

रा १ ख ३०३८ नम्बरको बसमा आगलागी हुँदा बस पूर्ण रुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले बताए । उनका अनुसार अगलागी भएको डिलक्स बस हो । जुन भारतमा समेत यात्रु लैजाने बस हो । आगलागीको कारण भने खुल्न सकेको छैन । आगलागी बाट नजिकै रहेको अर्को बसमा समेत सामान्य क्षति भएको छ । तर, अन्य गाडीमा आगो सल्किन पाएन ।


तुलसीपुरमा दमकल नहुँदा आगो निभाउन निकै कठीन भएको प्रहरी नायब उपरीक्षक पराजुलीले बताए । नजिककै जल सेवाको ट्याङकरबाट पानी लिएर बसमा लागेको आगो नियन्त्रणमा लिइएको हो । पौने १० बजेटिर मात्रै आगो नियन्त्रणमा आएको हो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । ग्यारेजमा अन्य गाडीहरु पनि थिए ।