तुलसीपुर,१७ फागुन । तुलसीपुरको स्थनीय पाठ्यक्रममा रहेको राप्ती शान्ति उद्यानको विषयमा विद्यार्थीले सम्बन्धित ठाउँमै गएर अध्ययन गरेका छन् ।
तुलसीपुर ६ स्थित गोरखा माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत विद्यार्थीहरु राप्ती शान्ति उद्यान(गणेशपुर पार्क)मै गएर त्यहाँको बस्तुस्थिति बुझेका हुन् । उपमहानगरपालिकाले पर्यटकीय क्षेत्र गणेशपुर पार्कलाई पाठयक्रममा समावेश गरेको छ । त्यस क्रममा विद्यार्थीहरुले पर्यटकीय स्थलको अबस्था, सुधार गर्नुपर्ने पक्ष, एतिहासिक अबस्थालगायतका विषयमा जानकारी लिनुका साथै पार्क ब्यबस्थापन समितिलाई पनि सुझाब दिएका थिए ।
विद्यालयका आधारभूत तहका संयोजक पूर्णबहादुर डाँगीको अध्यक्षता तथा तुलसीपुर ७ का वडाध्यक्ष रामबहादुर जीसीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यव अवसरमा तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा अधिकृत मानबहादुर खड्का, पार्क ब्यबस्थापन समिति सदस्य बालाराम रेग्मीलगायतको सहभागिता रहेको थियो ।
त्यस अवसरमा बक्ताहरुले विद्यार्थीहरुलाई किताबमा मात्रै भएको कुरा भन्दा यसरी सम्बन्धित ठाउँमै गएर सिकाउनु पर्ने बताएका थिए । यसले विद्यार्थीहरुले पाठ्यक्रममा भएको कुरा प्रत्येक्ष देख्न सक्छन्, जसले गर्दा ब्यबहारिक शिक्षामा बृद्धि हुन्छ ।
उपमहानगरपालिकाले हाम्रो तुलसीपुर नाम दिएर स्थानीय पाठ्यक्रम लागु गरेको छ । कार्यक्रमको सहजीकरण विद्यार्थी रुपिक्षा शाह र सेविका आचार्यले गरेकी थिइन । त्यस अवसरमा आधारभूत तह संयोजक डाँगीले आगामी दिनमा स्थानीय पाठ्यक्रममा भएको कुरालाई सम्बन्धित ठाउँमै लिएर सिकाउने बताएका थिए ।
लाइभदाङ । १७ फाल्गुन २०७९, बुधबार २१:३५ बजे