
दाङ,८ जेठ ।
जिल्ला प्रहरी कार्यालय दाङले अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसारमा संलग्न सवारी साधनमाथि कारबाही गर्दै ८ वटा सवारी साधन नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले ती सवारी साधनबाट २ लाख ९५ हजार रुपैयाँ जरिवाना असुल गरी आवश्यक प्रक्रिया पूरा भएपछि सम्बन्धित व्यक्तिको जिम्मा लगाएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार २०८३ साल जेठ १ गतेदेखि जेठ ७ गतेसम्म जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएको निगरानी तथा चेकजाँचका क्रममा अवैध रूपमा ढुङ्गा, बालुवा र गिट्टी ओसारपसार गर्दै गरेका १ वटा जेसीबी, २ वटा ट्रिपर र ५ वटा ट्याक्टर नियन्त्रणमा लिइएको हो।
प्रहरीले जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीमार्फत संयुक्त रूपमा अनुगमन तथा कारबाही अभियान सञ्चालन गरेको जनाएको छ। नियन्त्रणमा लिइएका सवारी साधनलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको थियो।
प्रहरीका अनुसार सम्बन्धित निकायबाट २ लाख ९५ हजार रुपैयाँ जरिवाना गराइएको र त्यसपछि सवारी साधन सम्बन्धित व्यक्तिको जिम्मा लगाइएको हो। दाङ जिल्लामा पछिल्लो समय अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार बढ्दै गएको गुनासो आइरहेका बेला प्रहरीले निगरानीलाई थप कडा बनाएको जनाएको छ। प्रहरीले वातावरणीय प्रभाव र राजस्व चुहावट रोक्न यस्ता गतिविधिविरुद्ध अभियान निरन्तर जारी रहने पनि उल्लेख गरेको छ।



लाइभदाङ । ८ जेष्ठ २०८३, शुक्रबार १७:०३ बजे