
दाङ,७ जेठ । बेवारिसे अवस्थामा सडकपेटीमा कष्टकर जीवन बिताइरहेका सहयोगापेक्षी मानवहरूको उद्धार गर्ने उद्देश्यले सञ्चालन भइरहेको मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको दशौँ दिन बिहीबार कपिलवस्तु र दाङ जिल्लाका विभिन्न स्थानबाट ६ जनाको उद्धार गरिएको छ ।
यात्रामार्फत हालसम्म देशका विभिन्न जिल्लाबाट १ सय १७ जना सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार गरिएको मानवसेवा आश्रमले जानकारी दिएको छ । यो पटकको वर्षातमा कसैले बस्न नपरोस् सडकपेटी भन्ने मानवीय भावनासहित सञ्चालन गरिएको अभियान अहिले देशका विभिन्न जिल्लामा निरन्तर सञ्चालन भईरहेको छ ।
उद्धार यात्राकै क्रममा बिहीबार लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यसँग स्नेहमिलन कार्यक्रम समेत सम्पन्न भएको छ । कार्यक्रममा मानवसेवा आश्रमका महासचिव सुशीला केसीले यात्राको उद्देश्य, हालसम्मको उपलब्धि तथा आगामी योजनाबारे जानकारी गराउनुभएको थियो ।
सो अवसरमा मुख्यमन्त्री आचार्यले राज्यले गर्नुपर्ने मानवीय कार्य मानवसेवा आश्रमले गरिरहेको भन्दै प्रशंसा समेत गर्नुभयो । उहाँले जेठभित्र मानवसेवा आश्रमसँग सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।
मानवसेवा आश्रम र आनी छोइङ फाउन्डेसनको संयुक्त सहकार्यमा सञ्चालन भइरहेको उक्त यात्राअन्तर्गत उद्धार गरिएका ६ जनालाई संरक्षण तथा आवश्यक हेरचाहका लागि मानवसेवा आश्रम नेपालगञ्ज शाखामा पठाइएको छ । मानवसेवा आश्रमले प्रत्येक वर्ष सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टकर जीवन बिताइरहेका सहयोगापेक्षी नागरिकहरूको उद्धार, संरक्षण र पुनर्स्थापनाका लागि देशव्यापी अभियान सञ्चालन गर्दै आइरहेको छ । उद्धार यात्रा भोलि नेपालगञ्ज हुँदै महेन्द्रनगरसम्म सडकआश्रित मानवहरुको खोजी तथा उद्धार सेवा सक्रिय रहने कार्यक्रम तय भएको छ ।



लाइभदाङ । ७ जेष्ठ २०८३, बिहीबार २३:३२ बजे