
दाङ,६ जेठ ।
दाङको तुलसीपुरमा नवउद्यम प्रबद्र्धन सम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ । व्यवसाय सुरु गर्न इच्छुक नवउद्यमी तथा व्यवसायमै सक्रिय उद्यमीहरूलाई लक्षित गर्दै कार्यशाला आयोजना गरिएको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुर र ग्रीन फाउन्डेसन नेपालको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगमा कार्यक्रम भएको हो । महासंघका अध्यक्ष लालबहादुर केसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
त्यस अवसरमा नगरप्रमुख खड्काले नयाँ बजारको खोजी गर्ने अभ्यासको अभावका कारण अधिकांश व्यवसाय गुजारामुखी अवस्थामा सीमित रहेको बताए । “हामीकहाँ जसले जे ग¥यो , त्यही गर्ने परम्परा छ । बजारको माग एकातिर छ, तर हामी बजारको आवश्यकताअनुसार उत्पादन र व्यवसाय सञ्चालन गर्न सकिरहेका छैनौँ,” उनले भने । आन्तरिक तथा बाह्य बजारको विश्लेषण गरेर काम गर्न सके नवप्रवर्तनले सार्थकता पाउने विश्वास व्यक्त गर्दै उहाँले भौगोलिक बनावट अनुसारको उत्पादनलाई प्रतिस्पर्धात्मक बनाउन नवीन योजना आवश्यक रहेको बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पार्धेले धेरैले उद्यमी बन्ने सपना देखे पनि त्यसलाई व्यवहारमा उतार्न ठोस योजना र निरन्तर प्रयासको कमी रहेको बताए । स्थानीय सरकारमा भौतिक पूर्वाधारका माग धेरै आउने गरे पनि उद्यमशीलता विकासका कार्यक्रम सञ्चालनका लागि माग गर्न आउने सङ्ख्यात्मक रुपमा कमी देखिएकाले नव प्रबद्र्धनका विषय ओझेलमा परेको धारणा राखे ।
कार्यक्रममा महासंघका अध्यक्ष केसीले विगतदेखि नै नव प्रबद्र्धन र उद्यमशीलतालाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताए। उनले स्थानीय सरकारसँग समन्वय गरी उद्यमीहरूलाई प्रेरणा र व्यवहारिक सीप प्रदान गर्ने कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जानकारी दिए ।
तुलसीपुर उपमहानगरपालिका भित्रका विभिन्न क्षेत्रका ५० भन्दा बढी उद्यमीहरूको सहभागिता रहेको कार्यशालामा उद्यम विकास सहजकर्ता सुरेश कुमार रावतले ‘उद्यमशीलता र उद्यमी सोचमा नवप्रवर्तन’ विषयमा तथा आइटी अफिसर सविन केसीले ‘नव प्रबद्र्धन र प्रविधिको प्रयोग’ विषयमा प्रशिक्षण दिएका थिए । महासंघका उपाध्यक्ष टिकाजङ ओलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव भद्रबहादुर ओलीले गरेका थिए ।



लाइभदाङ । ६ जेष्ठ २०८३, बुधबार १९:१० बजे