हेफर इन्टरनेशनल र ग्रामीण महिला उत्थान केन्द्रद्वारा गढवाका किसानलाई कृषि सहयोग

आलोक भावुक
गढवा, ४ जेठ ।
दाङ देउखुरीको गढवा गाउँपालिका र राजपुर गाउँपालिकाका किसानलाई साढे १२ लाख रुपैयाँ बराबरको कृषि सामग्री हस्तान्तरण गरिएको छ। हेफर इन्टरनेशनल नेपाल र ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङकोद्वारा किसानहरुलाई कृषि सामाग्री हस्तान्तरण गरिएको हो।

गढवा गाउँपालिका र राजपुर गाउँपालिका गरी ४ सय १४ जना किसानहरुलाई प्रविधि हस्तान्तरण गरिएको ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङकी अध्यक्ष आसमानी चौधरीले जानकारी दिनुभयो। गढवा गाउँपालिकाका २ सय १५ र राजपुर गाउँपालिकाका १ सय ९९ जना किसानहरु लाई सामाग्री हस्तान्तरण गरिएको हो। ६ लाख ४९ हजार १ सय ४९ रुपैयाँ बराबरको सामाग्री गढवा गाउँपालिका र ६ लाख ८ सय ४५ रुपैयाँ बराबरको कृषि सामग्री राजपुर गाउँपालिकाका किसानहरुलाई हस्तान्तरण गरिएको हो।

ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङ र हेफर इन्टरनेशनल नेपालको संयुक्त साझेदारीमा गढवा र राजपुर गाउँपालिकामा सञ्चालित माटो पुनरुत्पादनशिल कृषि परियोजना द्वारा कृषि सामग्री हस्तान्तरण गरिएको हो।


आईतबार गढवा गाउँपालिकामा सम्पन्न कृषि सामग्री हस्तान्तरण कार्यक्रम ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङकी अध्यक्ष आसमानी चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीले गढवा गाउँपालिकाका किसानलाई प्रोत्साहन गर्ने र कृषिमा सहजताका लागि कृषि सामाग्री हस्तान्तरण प्रभावकारी हुने बताउनुभयो।

त्यसैगरी कार्यक्रममा बोल्दै ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङकी अध्यक्ष आसमानी चौधरीले किसानहरु लाई कृषि मै आत्मनिर्भर बनाउन कृषि सामग्री हस्तान्तरण गरिएको जानकारी दिनुभयो।

कृषि प्रविधि हस्तान्तरण कार्यक्रममा हेफर इन्टरनेशनल नेपालका डा। गान्धीराज उपाध्याय , कृषि बिज्ञ बिक्रम भट्ट , ग्रामीण महिला उत्थान केन्द्रका फोकल पर्सन भिमकान्त चौधरी,गढवा गाउँपालिका भिटा परियोजना कार्यक्रम संयोजक बसन्त कुमार शर्मा, ग्रामीण महिला उत्थान केन्द्रकी सूचना अधिकारी पार्वती बस्नेत, माटो पुनरुत्पादनशिल कृषि परियोजनाकी सहजकर्ता पुष्पा पौडेल लगायतको सहभागिता रहेको थियो।