
दाङ,२९ बैशाख ।
दाङमा करेन्ट लागेर बस चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार बसमा करेन्ट लाग्दा बबई गाउँपालिका–७ मलई निवासी बस चालक ४१ वर्षीय पूर्णबहादुर वलीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी रेशम बोहराका अनुसार आज दिउँसो मलईबाट तुलसीपुरतर्फ आउँदै गरेको रा. १ ख. २१९८ नम्बरको बसको टायर बबई गाउँपालिका–७, पातिहाल्नास्थित भित्रि सडक खण्डमा पन्चर भएको थियो ।
पन्चर भएको टायर फेर्ने क्रममा बसको छतमा चढेका चालक वलीलाई करेन्ट लागेको प्रवक्ता बोहराले जानकारी दिनुभयो ।
करेन्ट लागेर गम्भीर घाइते हुनुभएका वलीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।



लाइभदाङ । २९ बैशाख २०८३, मंगलवार १९:४१ बजे