प्रादेशिक अस्पतालले कोभ्रा सर्पले टोकेका विरामीलाई यसरी बचायो

दीपक बोहरा
दाङ, ८ साउन । सल्यान बागचौर नगरपालिका ८ कोटमौला घरभई हाल तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ कौवापुर बस्दै आएकी एक बालिकालाई मंगलबार विहान सर्पले टोक्यो । ओछ्यानमा सुतिरहेको अबस्थामा ३ बर्षीया बालिका सिर्जना चन्दलाई सर्पले टोकेपछि उनीहरुले नजिककै धामी भएको ठाउँमा लगे ।

धामीले तत्काल अस्पताल लैजान भनेपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याए । आमा लक्ष्मी चन्दसंगै सुतिरहेको अबस्थामा सर्पले टोक्दा गम्भीर भएको अबस्थामा अस्पताल ल्याउँदा उनको मुटुको धड्कन निकै कम चलिरहेको थियो । अस्पतालका डाक्टर रोशन गुप्ताका अनुसार साढे ५ बजेतिर विरामीलाई अस्पाल ल्याईएको थियो ।

त्यो बेला अक्सिजनको स्तर पनि ४० प्रतिशत भन्दा कम भइसकेको थियो ।“अक्सिजनको लेभल ५० भन्दा कम हुँदा निकै जोखिम हुन्छ, तर, ति बालिकाको अक्सिजनको लेभल ४० भन्दा कम भइसकेको थियो”,उनले भने“ बच्चाले साहस पनि फेरिरहेको थिएन, बच्चालाई बचाउन सकिन्छ, की सकिदैन भन्ने नै थियो ।” विरामीले साहस नै नफेरेपछि ‘एम्बु ब्याग’को सहायताले अक्सिजन दिइयो ।

अक्सिजन दिदै ‘एन्टि स्नेक भ्यानम’ पनि दिएपछि ९ बजेतिर विरामी पनि होसमा आईन र सहास पनि सहजै फेर्न सकिन । अहिले उनको अबस्था सामान्य रहेको डा. गुप्ताले बताए ।“सुतेको अबस्थामा विहान ३ बजेतिर सर्पले टोकेको देखिन्छ, साढे ५ बजेपछि मात्रै अस्पताल ल्याउदा निकै ढिला भइसकेको थियो”,उनले भने “तर, समयमै ल्याएपछि बिषालु सर्पले टोकेका विरामीको सफल उपचार गर्न सकिन्छ ।” उनलाई कोभ्रा सर्पले टोकेको थियो ।


राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई ‘रेफर’ अस्पतालको उपनाम दिने गरिएको भएपनि विरामी र आफन्तले विश्वास गरेर विरामीको सफल उपचार गर्न सकिने कुराको गतिलो उदाहरण बनेको उनको भनाई छ ।“यो अरु जस्तो केश थिएन, निकै असहज अबस्थामा पनि विरामीका आफन्तले विश्वास गरेपछि सकिने रहेछ भन्ने एउटा उदाहरण हो”,उनले भने“सर्पले टोकेका विरामीहरु पनि धामीझाँक्रीको विश्वास नगरेर सिधै अस्पतालमा ल्याए सम्भव छ ।”

यो त एउटा उदाहरण मात्रै हो । अहिलेसम्म अस्पतालमा समयमै उपचारकालागि आएका सर्पले टोकेका विरामीहरुको सहज उपचार गरेर पठाएको अस्पतालका आपतकालिन शाखा प्रमुख धनबहादुर केसीले बताए ।

चालु बर्षको साउनको अहिलेसम्म मात्रै दुई जना विषालु सर्पले टोकेका विरामीहरु आएको उनले बताए । ति दुबैजनाको उपचार सफल भएको केसीले बताए । त्यस्तै गएको आर्थिक बर्ष २०८०÷०८१ मा १७ जना विषालु सर्पले टोकेका विरामीहरु आएका थिए । ति मध्ये ६ जनाको बाहिर रेफर गरिएको र अन्य ११ जनाको उपचार सफल भएको प्रमुख केसीले बताए ।