
दीपक बोहरा
तुलसीपुर, २८ वैशाख ।
थारु समुदायको पहिचान जोगाउनकालागि बिभिन्न जिल्लाका थारु अगुवाहरुले दाङमा भेला भएर छलफल गरेका छन् । दाङको दंगीशरण गाउँपालिका वडा नं.३ चखौरामा लुम्बिनीप्रदेशको दाङसहित बाँके, बर्दिया, नवलपरासी,रुपन्देही, सुदुरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर एवं कर्णाली प्रदेशका सुर्खेतलगायतका थारु समुदायहरु भेला भएका हुन् ।
सोमबार भएको थारु समुदायको परम्परागत अबस्था अन्तरगत महतवा, बरघर, भलमान्साहरुको अन्तरप्रदेश स्तरीय सम्मेलनका क्रममा थारु समुदायको पहिचान हराउँदै गएको भन्दै यसलाई जोगाउनकालागि तीनै तहका सरकार गम्भीर हुनुपर्ने बक्ताहरुलेबताएका थिए । थारु समुदायका महतवा, बरघर, भलमान्साहरुको सहभागिता रहेको उक्त कार्यक्रममा पछिल्लो समय थारु समुदायको महतवा, बरघर, भलमान्सालगायत प्रथा हराउँदै जान थालेको लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा महतवा, बरघर, भलमान्सा संघका केन्द्रीय अध्यक्ष डिल्लीबहादुर चौधरीले बताउनुभयो । त्यसैले थारु समुदायको पहिचान शंकटमा पार्ने भन्दै यस्तो कार्यक्रम आयोजना गरिएको उहाँको भनाई छ ।
संघको समन्वय तथा सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुर र पर्यटन डिभिजन कार्यालय बाँकेको आयोजनामा भएको कार्यक्रममा उहाँले स्थानीय तह, प्रदेश तथा संघमा समेत बरघर, महतवा, भलमान्साकालागि कानुन बनाउनु पर्ने बताउनुभयो । थारु समुदायको यो प्रथाले सामाजिक एकता कायम गर्ने गरेको भन्दै यसलाई जोगाउदा समुदायको हित हुने समेत पूर्वमुख्यमन्त्री चौधरीको भनाई छ । उहाँका अनुसार थारु सामुदायको भेषभुषा, संस्कार, संस्कृति, रहनसहनलाई जोगाउन पनि यस्तो छलफल गरिएको हो ।
त्यस अवसरमा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले बर्षे अधिवेशनमा बडघर विद्येयक पेश हुने बताउनुभयो । थारु समुदायको बाहुल्यता भएको प्रदेशमा समेत बडघर ऐन निर्माणमा ढिलाई हुनु दुःखद भएको समेत उहाँको भनाई छ । साथै उहाँले थारु, मगर, मधेसी भाषालाई सरकारी कामकाजको भाषा समेत बनाउने गरि पहल लिने बताउनुभयो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य सुरेन्द्र चौधरीले थारु समुदायको संस्कार, संस्कृति, रहनसहनलाई पर्यटनसंग जोड्न सकिने बताउनुभयो । साथै उहाँले थारु समुदायको खानपानलाई बजारीकरण गरेर आम्दानीसंग जोड्नु पर्ने समेत बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना, उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले महतवा, बरघर, भलमन्साको विद्येयक निर्माण भइसकेको भन्दै अब बस्ने संसदमा पेश हुने समेत बताउनुभयो ।



लाइभदाङ । २९ बैशाख २०८३, मंगलवार ०८:२३ बजे