अबैध नदिजन्य पदार्थ ओसारपसार गर्ने सवारी साधनहरु नियन्त्रणमा

दाङ, २२ वैशाख ।
दाङ जिल्लामा अवैध रूपमा नदिजन्य पदार्थ (ढुङ्गा, बालुवा, गिट्टी) ओसारपसार गर्ने कार्यमा संलग्न सवारी साधनहरूमाथि प्रहरीले कडाइ गर्दै एक सातामा १८ वटा सवारी साधन नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङ र मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले वैशाख १५ गतेदेखि २१ गतेसम्म सञ्चालन गरेको विशेष अभियानका क्रममा उक्त कारबाही गरिएको हो।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनमा २ वटा जेसीबी, ६ वटा ट्रिपर र १० वटा ट्याक्टर रहेका छन्। ती सवारी साधनहरू दाङ जिल्लाका विभिन्न स्थानबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न रहेको अवस्थामा फेला परेका थिए। कारबाहीका क्रममा सम्बन्धित निकायमार्फत कुल ४ लाख ५२ हजार ४०१ रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ। आवश्यक प्रक्रिया पूरा गरी जरिवाना तिराएपछि ती सवारी साधनहरू सम्बन्धित व्यक्तिहरूको जिम्मा लगाएर छाडिएको छ।


प्रहरीले नदीजन्य पदार्थको अवैध उत्खनन र ओसारपसारले वातावरणीय सन्तुलनमा गम्भीर असर पार्ने, नदीको बहाव परिवर्तन हुने तथा बाढी–पहिरोको जोखिम बढ्ने भएकाले यस्ता गतिविधि नियन्त्रण गर्न अभियानलाई तीव्र बनाइएको जनाएको छ। साथै, स्थानीय तह र सरोकारवाला निकायसँग समन्वय गरी अनुगमनलाई अझ प्रभावकारी बनाइने प्रहरीको भनाइ छ। जिल्ला प्रहरी कार्यालय दाङले कानुन विपरीत हुने यस्ता गतिविधिमा संलग्न नहुन सम्बन्धित सबैलाई सचेत गराउँदै आगामी दिनमा पनि निगरानी र कारबाही निरन्तर रहने स्पष्ट पारेको छ।