नेपाली काङ्ग्रेस दाङ १ को आयोजनामा “जरा अभियान” सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

प्रिया स्मृती गजमेर
देउखुरी,८ वैशाख ।
नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ दाङको आयोजनामा “जरा अभियान” सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य पवित्रा कुमारी अर्यालले “जरा अभियान” पार्टीलाई जनताको वास्तविक मुद्दासँग जोड्ने अभियान भएको उल्लेख गर्दै यसको सफल कार्यान्वयनले काङ्ग्रेसप्रति जनविश्वास थप मजबुत हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले कार्यकर्ताहरूलाई जनतामाझ पुगेर पार्टीका नीति, कार्यक्रम र उद्देश्य स्पष्ट रूपमा बुझाउन तथा जनभावनालाई पार्टीमा समेट्न सक्रिय भूमिका खेल्न आग्रह गर्नुभयो ।

त्यसैगरी केन्द्रीय प्रतिनिधि शंकर तिवारीले अभियानलाई केवल औपचारिक कार्यक्रमका रूपमा नलिई व्यवहारमै लागू गर्नुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार “जरा अभियान” ले पार्टीभित्रका सच्चा कार्यकर्ताको भावना सम्बोधन गर्दै उनीहरूलाई सम्मान र जिम्मेवारी दिने वातावरण सिर्जना गर्नेछ । साथै यसले पार्टीप्रति आस्था राख्ने समर्थकहरूको मन जित्दै संगठनलाई अझ मजबुत बनाउने पार्टीको अपेक्षा रहेको उहाँको भनाई छ ।

नेपाली कांग्रेस क्षेत्र नम्बर १ दाङका सभापति भेषराज पाण्डेले “जरा अभियान” पार्टीको संगठन सुदृढीकरण र तल्लो तहसम्म जनसम्पर्क विस्तार गर्ने उद्देश्यले सुरु गरिएको महत्वपूर्ण अभियान भएको स्पष्ट पार्नु भयो । उहाँका अनुसार यो अभियानले नेपाली काङ्ग्रेसलाई गाउँ–टोलसम्म पुनः सक्रिय बनाउँदै कार्यकर्तासँग प्रत्यक्ष संवाद स्थापित गर्ने, उनीहरूका गुनासा र सुझाव संकलन गर्ने तथा संगठनलाई आधारभूत तहबाट बलियो बनाउने लक्ष्य राखेको छ ।

कार्यक्रममा नेपाली कांग्रेस दाङका सभापति शंकर प्रसाद डाँगीले अभियानको प्रभावकारिता, यसको कार्यान्वयन प्रक्रिया तथा यसले पार्टीभित्रको एकता र सक्रियतामा पार्ने प्रभावबारे धारणा राख्नु भयो । “जरा अभियान” लाई व्यवहारिक र परिणाममुखी बनाउन सबै तहका नेता तथा कार्यकर्ताको सक्रिय सहभागिता अहिलेको आवश्यकता भएको सभापति डाँगीको भनाई छ ।


कार्यक्रममा सहभागी कार्यकर्ताहरूले पार्टी सदस्यता नवीकरणको विषयलाई विशेष प्राथमिकताका साथ उठाएका छन् । उनीहरूले नवीकरण प्रक्रिया समयमै, पारदर्शी र सहज ढंगले सञ्चालन हुन नसक्दा सक्रिय कार्यकर्ताहरू नै अन्योलमा पर्ने अवस्था सिर्जना भएको गुनासो गरेका थिए । कार्यकर्ताहरूका अनुसार सदस्यता नवीकरण केवल औपचारिक प्रक्रिया मात्र नभई पार्टीसँगको निरन्तर सम्बन्ध र सक्रियताको आधार हो तर कतिपय स्थानमा सूचना अभाव, प्रक्रियागत झन्झट तथा समन्वयको कमीका कारण नवीकरणमा समस्या देखिएको उनीहरूको भनाइ थियो । उनीहरूले नवीकरण प्रक्रियालाई सरल, प्रविधिमैत्री र पहुँचयोग्य बनाउन नेतृत्वसँग माग गरेका छन् ।

यसैगरी पुराना तथा सक्रिय कार्यकर्ताहरूलाई प्राथमिकतामा राखी समयमै नवीकरण सुनिश्चित गर्नुपर्ने, नयाँ सदस्यता वितरण र नवीकरणबीच स्पष्ट मापदण्ड तय गर्नुपर्ने तथा कार्यकर्ताहरूले नवीकरणमा ढिलाइ हुँदा संगठनको सक्रियता कमजोर हुने तथा तल्लो तहमा पार्टीप्रति उत्साह घट्ने जोखिम औँल्याएका छन् ।

अभिमुखीकरण कार्यक्रमले पार्टी संगठनलाई जरा तहदेखि नै सुदृढ बनाउन तथा जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने दिशामा सकारात्मक सन्देश दिएको आयोजकले जनाएको छ । कार्यक्रमको सहजीकरण नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय सहसचिव प्रकाश कुमार जिसीले गर्नु भएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य प्रदीपराज शर्मा, महासमिति सदस्य जानकीलाल बस्नेत, कर्ण बहादुर बुढाथोकी, गिरिजादेवी न्यौपाने लगायतका नेताहरुको सहभागिता रहेको थियो ।