शान्तिनगर, ३ मंसिर ।
सर्वोच्च अदालतले शान्तिनगर गाउँपालिकाको केन्द्र चिराघाटबाट अन्यत्र सार्ने काम नगर्नु/नगराउनु र चिराघाटबाट पुर्बतत गाउँपालिका संचालन गर्नु भनि गरेको अन्तरिम आदेश दुइ महिना बित्नै थाल्दा पनि कार्यान्वयन नगरेको भन्दै शान्तिनगर गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षहरुलाइ विपक्षी बनाइ सर्वोच्च अदालतमा अपहेलनाको मुद्दा दायर गरिएको छ।
शान्तिनगर गाउँपालिकाको केन्द्र चिराघाटबाट गत भदौ २ गते जबर्जस्ती रुपमा शान्तिनगरको जुम्लेकुलामा सारिएको थियो। त्यसैको विरुद्धमा स्थानीयहरुले गत असोज ४ गते गाउँपालिकाको केन्द्र सार्ने निर्णयका विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
असोज ६ गते रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतका माननिय न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले गाउँपालिकाको केन्द्र चिराघाटबाट अन्यत्र सार्ने कार्य नगर्नु/नगराउनु र चिराघाटबाट पुर्बतत गाउँपालिका संचालन गर्नु भनि सर्बोच्च अदालत नियमावली २०७४ को नियम ४९(२) क बमोजिम प्रत्यर्थिहरुको नाममा आदेश जारि गरिएको छ। सर्वोच्च अदालतले आदेश जारि गरेको झन्डै दुइ महिना हुँदासम्म गाउँपालिका चिराघाटमा नसारेको भन्दै अदालतको अपहेलनामा गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष र वडा अध्यक्षहरुलाइ हदैसम्मको कारबाहिको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।
उता उच्च अदालत तुलसीपुरले २०७५ असार २० गते गाउँपालिकाको केन्द्र चिराघाटबाट अन्यत्र नसार्नु भनि गरेको फैसला विरुद्ध गइ जनप्रतिनिधिहरुले गाउँपालिकाको केन्द्र चिराघाटबाट जुम्लेकुला सारेको विरुद्धमा पनि उच्च अदालत तुलसीपुरमा पनि अपहेलनाको मुद्दा दायर गरिएको छ।
उता गाउँपालिकाले आफु कानुनबाट बच्नको लागि लेटर प्याडमा चिराघाट लेखि कार्यालय जुम्लेकुलाबाट संचालन गर्दै आएको पाइएको छ। भने शान्तिनगर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भेष राज चन्दसंग सम्पर्क गर्दा आफु कानुनको पालना गर्न सदैब तयार रहेको बताएता पनि कार्यान्वयन भने हुन सकेको छैन।
लाइभदाङ । ३ मंसिर २०८१, सोमबार १६:२६ बजे