
सल्यान,८ बैशाख ।
सल्यानमा विद्युत् सर्ट भई एकजनाको मृत्यु भएको छ। बागचौर नगरपालिका– ४, मोहर बस्तीका ७० वर्षीय मोतीराम वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मंगलबार दिउँसो भन्द्रबहादुर घर्तीको बाख्राको खोरमा विद्युत् सर्ट भई आगलागी हुँदा बाख्राको खोरमा सुतिरहेका वलीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ।
यस्तै, सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा दुई घरमा क्षति पुगेको छ। शारदा नगरपालिका– ४ स्थित सालटाकुरी सामुदायिक वनको आगो बस्तीमा पस्दा शारदा नगरपालिका– ४ की गायात्रा विष्टको भान्सा कोठा र ५३ वर्षीय खिमबहादुर डाँगीको घरमा सामान्य क्षति भएको हो। आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।



लाइभदाङ । ८ बैशाख २०८३, मंगलवार २१:२६ बजे