बर्षाले गर्दा तीन करोड बराबरका इट्टामा क्षति

तुलसीपुर
२१ माघ /  पटक–पटकको बर्षादले गर्दा दाङमा करोडौंको इट्टामा क्षति भएको छ ।

दाङ देउखुरी इट्टा व्यबसायी संघ दाङका अध्यक्ष प्रेमनाथ योगीका अनुसार यस अघि असोजमा भएको बेमौसमी बर्षाद र त्यसयता बिभिन्न समयमा भएका बर्षादले गर्दा ३ करोड बराबरको इट्टामा क्षति भएको हो ।

“समय–समयमा बर्षा भइरहेको छ, यो बर्षाले हाम्रो इट्टामा निकै क्षति पु¥यायो”,उहाँले भन्नुभयो“अहिलेसम्म करिब ३ करोड क्षति भइसकेको छ ।” पकाउनकालागि तयारी अबस्थामा राखिएका इट्टा पानीले भिजाउदा नष्ट हुने गरेको उहाँको भनाई छ ।


यसले गर्दा पनि यो बर्ष जिल्लामा इट्टाको अभाब हुन सक्ने उहाँको भनाई छ । जिल्लामा हाल ३५ वटा इट्टा उद्योग छन् । यस बर्ष घाटा हुने देखिएपछि इट्टा उद्योग बन्द हुने अबस्था आएको समेत उहाँको भनाई छ ।

यस अघि मात्रै जिल्लामा इट्टामा पानीले क्षति गरेपछि मूल्य बृद्धि समेत गरिएको थियो । १ नम्बर इट्टाको प्रति मूल्य रु.१६, २ नम्बर इट्टाको प्रति रु.१२ र ३ नम्बर इट्टाको प्रति रु.१० तोकिएको थियो । प्रत्येक ईट्टामा रु. १ बृद्धि गरिएको छ । राज्यले बीमाको ब्यबस्था नगर्दा पनि समस्या उत्पन्न भएको अध्यक्ष योगीले बताउनुभयो ।