तुलसीपुर-१२ का गाउँ–गाउँमा कालोपत्रे सडक

तुलसीपुर, १५ पुष ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ को पुकार पसलदेखि सिद्धार्थ चोकमा सडक कालोपत्रेको काम सकिएको छ । त्यहाँ ४९० मिटर सडक कालो पत्रे भएको हो । त्यस्तै सोही वडाको अशोक चोकदेखि सिदार्थ चोकसम्मको ४८० मिटर सडक पनि कालो पत्रे भएको छ, भने कपडादेवीदेखि चौधरीगाउँसम्मको ३६० मिटर सडक कालो पत्रे भएको छ । यी त तुलसीपुर १२ मा भएका कालोपत्रे सडकका उदाहरण मात्रै हुन् ।

यस्तै गाउँ–गाउँमा अहिले सडक कालोपत्रेको काम भइरहेको छ । उपमहानगरपालिकाको बजेटमा अहिले कालोपत्रेको काम अघि बढिरहेको छ । यी तीन वटा सडककालागि ८७ लाख ९७ हजार बजेट थियो । स्मृति विशाल कन्ट्रक्सन सेवाले कालोपत्रेको ठेक्का पाएको थियो ।


तुलसीपुर १२ मा मात्रै चालु बर्षमा करिब डेढ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । वडाध्यक्ष खुसीराम चौधरीका अनुसार वडामा मात्रै अहिलेसम्म डेढ किलोमिटर सडक कालोपत्रे भइसकेको छ ।“हामीले सडक कालोपत्रेमा बढि जोड दिएका छौं”,उहाँले भन्नुभयो“चालु बर्षमा मात्रै डेढ किलोमिर सडक कालोपत्रे भइसकेको छ, अझै केही सडक कालोपत्रेकै चरणमा छ ।”

उहाँका अनुसार वडाकै क्वाङीदेखि थारु गाउँसम्मको २८० मिटर सडक कालोपत्रेको काम पनि अघि बढिरहेको छ, भने चेतनाथ टोलमा पनि ९२० मिटर सडक कालोपत्रेको कामको प्रक्रिया अघि बढेको छ । सडक पनि विकासको एउटा महत्वपूर्ण आधार भएकाले यसलाई विस्तार गर्न वडा दत्तचित्त भएर लागेको उहाँको भनाई छ ।