सुनसान पर्यटकीय स्थल ‘चमेरे गुफा’

तुलसीपुर,१० भदौ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.४ मुलकोट स्थित पर्यटकीय स्थल चमेरे गुफा हिजोआज सुनसान छ । बर्षादले गर्दा गुफासम्ममा पुग्ने सडक विग्रिएपछि त्यहाँ पर्यटकहरुलाई पुग्न असहज हुने गरेको छ । मोटरसाईकल छिटफूट रुपमा जाने गरेको भएपनि गाडी जान सम्भव नहुँदा पनि पर्यटकहरु आवतजावत गर्न समस्या हुने गरेको छ ।

दक्षिण एसियाकै दोस्रो ठूलो चमेरे गुफा भनेर दावी गरिएको भएपनि त्यहाँसम्म पुग्ने सडक पक्की नहुँदा हरेक बर्ष बर्षादमा त्यहाँ पर्यटकहरु जाने गर्दैनन् । हिउदको समयमा पर्यटकहरुको घुँइचो लाग्ने गरेको त्यो स्थान हिजोआज सुनसान हुने गरेको गुफामा कार्यरत कर्मचारी सिताराम पुनले बताउनुभयो ।“हिउदमा धेरै जना आउछन्, भिडभाड धेरै हुन्छ”,उहाँले भन्नुभयो“तर, हिजो आज त हप्तामा ५/७ जना भन्दा बढि आउन सक्ने अबस्था छैन ।”

हिजो आज त्यहाँ पुग्नलाई निकै समस्या हुने गरेको आन्तरिक पर्यटक सुमित्रा आचार्यले बताउनुभयो ।“हामी आउँदा निकै संघर्ष गर्नुप¥यो, सडकको बीचमा खाल्डाखुल्डी छन्”,उहाँले भन्नुभयो । चमेरे गुफा पुग्नकालाई तुलसीपुर उपमहानगरपालिकाको वडा नं. ३ को हर्नेटी हुँदै वडा नं. ४ को केही भाग पर्छ ।

अधिकांस भाग वडा नं. ३ मा पर्छ । यी दुबै वडाको समन्वयमा गुफासम्म पुग्ने सडक पक्की बनाउने विषयमा छलफल भइरहेको तुलसीपुर ४ का वडाध्यक्ष तुलसी थापाले बताउनुभयो ।“हामीले वडा नं.३ को वडाध्यक्षसंग पनि छलफल गरिरहेका छौं”,उहाँले भन्नुभयो“दुईवटै वडाको संयुक्त पहलमा सडक पक्की बनाउने काम हुन्छ ।”


अहिलेसम्म चमेरे गुफाको सडक तथा अन्य संरचनाकालागि प्रदेश सरकारले ६५ लाख, सुजिता शाक्य फाउन्डेशनले १० लाख रुपैँया बजेट आएको छ । साथै चालु बर्षकालागि पर्सेनी हुँदै चमेरे गुफा पुग्नकालागि ७५ लाख बजेट बिनियोजन भएको छ ।

उक्त गुफा २० बर्ष अघि फेला परेको हो । ३० मीटर उचाई,लम्वाई १६ मिटर र चौडाई ७ मिटर रहेको छ भने ३ वटा तला रहेको छ । गुफामा एक हजार बढी मान्छे अट्ने आकारमा रहेको छ । गुफामा भएको पुरातत्वलाई अझै पनि पत्ता लगाउँन सकिएको छैन । गुफामा एक हजार बर्ष पुराना अभिलेखहरु फेला परेका छन् । गुफा भित्र परापूर्वक कालका विभिन्न आकृति र स्तुवहरु रहेका छन् ।

केही बर्ष अघि स्थानीयको सक्रियतामा पहिलो पटक गुफाको चिरानीकालागि महोत्सव लगाईएको थियो । उक्त गुफा समुद्र सतहदेखि १२३० मिटरको उचाईमा रहेको चमेरे गुफा एैतिहासीक , धार्मिक महत्व बोकेको स्थानीयले बताएका छन् ।