
दाङ,२९ चैत । दाङको तुलसीपुरमा इँट्टाभट्टाको पर्खाल भत्किँदा एक जना मजदुरको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ जहदागाउँस्थित इँट्टाको पर्खाल भत्किदा भारतको बहराइच जिल्ला सरैया निवासी ३० वर्षीय तिर्थराम पासवानको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार आइतबार बिहान पौने ७ बजेतिर पर्खालको इट्टाले च्यापिएका पासवानलाई उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
त्यस्तै पर्खालको इट्टाले च्यापिदा सोही स्थानका ३६ वर्षीय देशराज पासवान गम्भीर घाइते हुनुभएको छ । उहाँलाई राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।



लाइभदाङ । २९ चैत्र २०८२, आईतवार १२:५६ बजे