दाङकी सीताः जसले गरिन नौ महिनामा आठ लोकसेवा परीक्षा पास

सलिम मियाँ
दाङ, २७ चैत ।
दाङ लमहीकी ३० वर्षीया सीता पोख्रेलले लोकसेवा आयोगअन्तर्गतका आठ वटा परीक्षा नौ महिनाभित्रै उत्तीर्ण गरेर उदाहरणीय सफलता हासिल गरेकी छन् ।

नेपाल आयल निगम (छैटौँ तह), नेपाल विद्युत प्राधिकरण (प्राविधिक, सातौँ तह), नागरिक उड्डयन प्राधिकरण (प्राविधिक, पाँचौँ तह), खाद्य व्यवस्था तथा व्यापार कम्पनी (सातौँ तह), राष्ट्रिय परीक्षा बोर्ड (छैटौँ तह), त्रिभुवन विश्वविद्यालय सेवा आयोग (छैटौँ तह), गुठी संस्थान (छैटौँ तह) र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (छैटौँ तह) मा नाम निकाल्न सफल सीता हाल नेपाल विद्युत प्राधिकरण, रामेछापमा सातौँ तहकी प्रशासनिक अधिकृतका रूपमा कार्यरत छन् ।
उनले कुनै औपचारिक तयारी कक्षा नलिई घरमै बसेर प्रविधिको प्रयोग गर्दै अध्ययन गरेर सफलता हासिल गरेकी हुन् । “जुनमा भए पनि नाम निस्कोस् भन्ने लक्ष्य थियो,” उनले भनिन्“समय व्यवस्थापन गरेर घर, परिवार र बच्चासँगै पढाइ सन्तुलनमा राखेँ, त्यसैले सफलता सम्भव भयो ।”


२०७४ सालमा दाङको देउखुरीमा विवाहपछि थपिएका पारिवारिक जिम्मेवारीबीच पनि उनले पढाइलाई निरन्तरता दिइन । पाँच वर्षे छोराको हेरचाहसँगै बिहान, बेलुका र बच्चा सुतेपछि अध्ययन गर्ने बानीले उनलाई लक्ष्यसम्म पु¥यायो । सीताको सफलतामा उनका श्रीमान् माधवमणि पौडेलको महत्वपूर्ण साथ रहेको छ। काठमाडौंस्थित कानुन मन्त्रालयमा कार्यरत पौडेलले निरन्तर प्रेरणा र सहयोग गरेको उनी बताउछिन् ।“श्रीमानको साथ र ऊर्जा नै मेरो सफलताको आधार हो,” उनले भनिन् “उहाँले उच्च तहमा मात्र फाराम भर्न प्रोत्साहन गर्नुभयो, जसले आत्मविश्वास बढायो।”
प्युठानमै विद्यालय तहको अध्ययन पूरा गरेकी सीताले प्लस–टु पाल्पाबाट, स्नातक दाङबाट र स्नातकोत्तर काठमाडौंबाट पूरा गरेकी हुन् । विज्ञान विषयमा स्नातकोत्तर गरेकी उनले युट्युब र च्याटजिपिटीजस्ता प्रविधिमार्फत अध्ययन सामग्री जुटाएर स्वअध्ययन गरेको बताइन ।
“मैले कुनै तयारी कक्षा लिएको होइन,”उनले भनिन्, “प्रविधिको सही प्रयोग गर्न जानियो भने आवश्यक सामग्री सजिलै पाइन्छ। आफैं खोजेर पढ्नुपर्छ ।”
उनका अनुसार सफलता हासिल गर्न ठूलो स्रोतभन्दा पनि इच्छाशक्ति र समय व्यवस्थापन महत्वपूर्ण हुन्छ। “दैनिक थोरै समय भए पनि निरन्तर पढ्नुपर्छ,” उनले भनिन्“निरन्तर मेहनत गर्ने जो–कोही सफल हुन सक्छ।”