राजमार्ग लक्षित ट्राफिक सचेतना कार्यक्रम

दाङ, २२ मंसिर । जिल्ला ट्राफिक प्रहरी दाङले राजमार्ग लक्षित ट्राफिक सचेतना कार्यक्रमलाई तिब्रता दिएको छ ।यस अघि देउखुरीका सिसहनिया, नर्ती र भालुवाङमा राजमार्ग लक्षित ट्राफिक सचेतना कार्यक्रम भैसकेको छ । आज शुक्रबार देउखुरीको लमहीमा कार्यक्रम सम्पन्न भएको छ ।

लमही नगरपालिकाका कार्यवाहक नगर प्रमुख लक्ष्मी योगीले सडक दुर्घटना हुन नदिन सबै सचेत हुनु पर्ने बताउनु भयो । सडक बाटो काट्दा सवारी चालक र यात्रु पनि चनाखो हुनु पर्ने उहाँको भनाई छ ।

यात्रुहरुलाई आवतजावत गर्दा आइपर्ने ट्राफिक समस्यामा सहजीकरण गरिदिन पनि कार्यवाहक नगर प्रमुख योगीले आग्रह गर्नु भयो ।


वडा नम्बर १ का वडा अध्यक्ष दामोदर पौडेल, ३ का वडा अध्यक्ष मनोज कुमार चौधरी, ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदी, ६ का वडा अध्यक्ष श्यामनारायण चौधरी, यातायात व्यवसायीहरुको पनि सहभागिता रहेको थियो ।

यो कार्यक्रमको बारेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख किरण प्रकाश मल्लले ट्राफिक नियमबारे प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको सहजीकरण अस्थायी ट्राफिक प्रहरी पोस्ट लमहीका प्रमुख विष्णु प्रसाद न्यौपानेले गर्नु भएको थियो ।