
प्रिया स्मृती गजमेर
देउखुरी,२४ चैत ।
दाङ लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले लमही अस्पतालबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी, गुणस्तरीय तथा सेवाग्राहीमैत्री बनाउन कर्मचारीलाई निर्देशन दिनुभएको छ । लमही अस्पताल व्यवस्थापन समितिको आज बसेको बैठकलाई सम्बोधन गर्दै उहाँले बिरामी सन्तुष्ट हुनेगरी सेवा प्रदान गर्न विशेष ध्यान दिन आग्रह गर्नुभयो ।
उहाँले अस्पतालमा आउने बिरामीप्रति सम्मानजनक व्यवहार गर्न, बोलिचालीमा सुधार ल्याउन तथा गुनासो आउने अवस्थाको अन्त्य गर्न कर्मचारीहरूलाई सचेत गराउनुभयो । “बिरामीमैत्री सेवा दिनुहोस्, सेवाग्राहीले गुनासो नगर्ने वातावरण सिर्जना गर्नुहोस्,” उहाँले भन्नुभयो ।
बैठकमा अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष लक्ष्मी योगीले स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो । उहाँले आवश्यक जनशक्ति, उपकरण तथा व्यवस्थापन पक्षलाई सुदृढ गर्दै सेवा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै, लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको तह भएकाले स्वास्थ्य सेवा प्रभावकारी बनाउनु प्राथमिकता भएको उल्लेख गर्नुभयो । उहाँले अस्पताल प्रशासन र कर्मचारीबीच समन्वय बढाउँदै सेवामा पारदर्शिता र उत्तरदायित्व कायम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
बैठकमा अस्पतालको वर्तमान अवस्था, सेवा प्रवाहमा देखिएका चुनौती तथा सुधारका उपायबारे विस्तृत छलफल गरिएको थियो । सहभागीहरूले स्वास्थ्य सेवालाई थप सहज, छिटो र गुणस्तरीय बनाउने विषयमा विभिन्न सुझाव प्रस्तुत गरेका थिए ।
बैठकमा वडा नं. ४ का वडा अध्यक्ष तथा अस्पताल व्यवस्थापन समितिका सदस्य सुवाश न्यौपाने, सदस्यहरू अजय न्यौपाने, सन्तोष बुढाथोकी, लमही अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा। सुदीप श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद शर्मा, सर्मिला श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
यसैबीच बैठकले अस्पताललाई थप व्यवस्थित बनाउनका लागि लमही अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोगराज चौधरीको अधिकार प्रत्यायोजन हुने गरी सदस्य अजय न्यौपानेलाई जिम्मेवारी दिने निर्णय गरेको छ । साथै अस्पतालमा कार्यरत करारका कर्मचारीहरूको करार सम्झौता आगामी असारसम्मका लागि नवीकरण गर्ने निर्णय समेत गरिएको छ ।
आज बसेको बैठकले लमही अस्पतालमा निरन्तर चिकित्सकीय शिक्षा कक्षा संचालन गर्ने भएको छ । यो डाक्टर, नर्सहरूले आफ्नो ज्ञान र सीपलाई अद्यावधिक राख्नका लागि गरिने नियमित सिकाइ प्रक्रिया भएकोले यो कक्षा संचालन गर्न अत्यावश्यक भएको लमही अस्पतालका डाक्टर सुदीप चौधरीको भनाई छ ।
चिकित्सकीय शिक्षा कक्षा संचालन भएपछि सहकार्य, समन्वय र स्पष्ट सञ्चार गर्ने क्षमता बढाएर कामलाई अझ प्रभावकारी बनाउँउने उहाँको दावी छ । स्वास्थ्यकर्मीहरूको निरन्तर सिकाइ प्रक्रिया भएको र उनीहरूको दक्षता बढाएर बिरामीको सेवा अझ उत्कृष्ट बनाउँने कुरामा आफुहरु विश्वस्त भएको लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद शर्माले जानकारी दिनु भएको छ ।



लाइभदाङ । २४ चैत्र २०८२, मंगलवार १८:५९ बजे