
दाङ,२३ चैत । दाङको तुलसीपुर–६, शिवशक्ति टोल पूर्वी रजौरामा जारी श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञप्रति श्रद्धालुहरूको आकर्षण दिनानुदिन बढ्दै गएको छ । शिवशक्ति टोल विकास संस्था तथा शिवशक्ति पशुपतिनाथ मन्दिरको आयोजनामा सञ्चालन भइरहेको महायज्ञमा दैनिक रूपमा श्रद्धालुहरूको भीड बढ्दै जाँदा धार्मिक वातावरण थप उत्साहपूर्ण बन्दै गएको छ ।
भोली चैत २४ गतेसम्म सञ्चालन हुने महायज्ञमा प्रमुख कथावाचकका रूपमा सुप्रसिद्ध पण्डित चन्द्रकान्त काफ्ले तथा उपवाचक पण्डित रोहित सुवेदीले धार्मिक प्रवचनमार्फत भक्तजनलाई आध्यात्मिक मार्गदर्शन गरिरहनुभएको छ ।
मन्दिर परिसरमा रहेको योग भवनको भौतिक पूर्वाधार निर्माण तथा समग्र विकासलाई लक्ष्य राख्दै आयोजना गरिएको महायज्ञमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा समाजसेवी पवन ओली लगायत पाँच सयभन्दा बढी भक्तजनको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण डिल्लीराज रेग्मीले गर्नु भएको थियो ।



लाइभदाङ । २३ चैत्र २०८२, सोमबार २३:१७ बजे