
गढवा, १९ चैत्र।
दाङको गढवा गाउँपालिका–स्थित जनता माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा सहभागी विद्यार्थीलाई दही खुवाएर शुभकामना दिएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमाल, प्रधानाध्यापक राम सुरत यादव तथा शिक्षकहरूको टोलीले परीक्षा केन्द्रतर्फ जानुअघि विद्यार्थीलाई दही खुवाउँदै सफलताको कामना गरेका हुन्। विद्यालयको यस पहलले स्थानीय स्तरमा धार्मिक तथा सांस्कृतिक परम्पराको झल्को दिएको छ।
हिन्दू धर्म संस्कृतिमा दहीलाई शुभ, पवित्र र सफलताको प्रतीकका रूपमा लिइन्छ। कुनै महत्वपूर्ण कामको सुरुवात अघि दही खाने वा खुवाउने चलन प्राचीनकालदेखि रहँदै आएको छ। दहीले मन शान्त राख्ने, सकारात्मक ऊर्जा दिने तथा कार्य सफल हुने विश्वासका कारण विद्यार्थीलाई परीक्षा जस्तो महत्वपूर्ण क्षणमा दही खुवाइएको विद्यालयले जनाएको छ।
यसैबीच, १९ चैत्रदेखि देशभर सुरु भएको एसईई परीक्षामा करिब ५ लाखभन्दा बढी विद्यार्थी सहभागी भएका छन्। यस्तो अवस्थामा गढवामा गरिएको यस किसिमको सांस्कृतिक अभ्यासले विद्यार्थीमा आत्मविश्वास बढाउनुका साथै सकारात्मक सन्देश प्रवाह गरेको सरोकारवालाहरुले बताएका छन्।



लाइभदाङ । १९ चैत्र २०८२, बिहीबार ११:२६ बजे