राप्तीमा प्रथम चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

तुल बहादुर कवँर मगर
देउखुरी, २२ कार्तिक
दाङको राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को प्रथम चौमासिक अवधिक सार्वजनिक सुनुवाइ कार्यक्रम मंगलबार सम्पन्न गरेको छ । गाउँपालिकाको वडा नं.४ मा रहेको भिम बगैंचामा कार्यक्रम आयोजना गरिएको थियो ।

राप्ती गाउँपालिका र मातहतका कार्यालयहरूको काम कार्वाही, सेवा प्रवाह, योजना जस्ता सार्वजनिक विषयमा सम्बन्धित सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया गराउने तथा सेवाप्रति सेवा प्रदायकलाई जबाफदेही बनाउने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो ।

सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीले प्रथम चौमासिक अवधिमा गाउँपालिकाले गरेका काम र प्रगति प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा सरोकारवालाहरूले शिक्षा, स्वास्थ्य, कृषि, सडक, सिँचाइ, सरसफाइ, यातायातलगायत विकासका पूर्वाधारहरू, पर्यटकीय क्षेत्रको प्रवर्द्धन, संरक्षण र विकास, पञ्चवर्षीय रणनीतिक योजनाको कार्यान्वयन, शान्ति र सुशासन लगायतका विषयमा प्रश्न तथा सुझाव राखेका थिए ।


प्रदेश सरकारका बारेमा सरोकारवालाहरूले राखेका प्रश्नकोहरुको जवाफ लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुले र स्थानीय तहका बारेमा पालिकाका अध्यक्ष प्रकाश विष्ट,उपाध्यक्ष कमलापती चौधरी,प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली,वडा अध्यक्षहरु तथा विभिन्न शाखाका शाखा प्रमुखकर्मचारीहरूले जवाफ दिनु भएको थियो।

उक्त कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, क्रियाशिल राजनीतिक दलका प्रमुख, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख, क्याम्पस प्रमुख तथा विद्यालयका प्रधानाध्यापक, बैंक तथा वित्तीय संस्थाका प्रमुख, टोल विकास संस्थाका अध्यक्ष, उपभोक्ता समितिका पदाधिकारी, संचारकर्मी लगायत स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

सार्वजनिक सुनुवाइको सहजीकरण आर.एन.बुलन्द मिडिया प्रा.लि. काठमाडौंका सञ्चालक राजन नेपालले गर्नु भएको थियो। स्थानीय तहमा पारदर्शिता र जबाफदेहिताको औजारको रूपमा हेरिने सार्वजनिक सुनुवाइ कार्यक्रम पालिकाले प्रत्येक चौमासिक रूपमा गर्दै आइरहेको छ।