आशा, परीक्षण र अडानको मोडमा रास्वपा

नेपालको समकालीन राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) एउटा नयाँ आशाको केन्द्र बनेको छ। पुराना दलहरूप्रति बढ्दो निराशा र असन्तुष्टिका बीच उदाएको यो शक्तिलाई जनताले केवल विकल्पका रूपमा मात्र होइन, सम्भावनाका रूपमा पनि हेरेका छन्। तर, यो आशासँगै परीक्षण र आशंकाको छायाँ पनि सँगसँगै हिँडिरहेको छ। रास्वपाले पाएको जनसमर्थन भावनात्मक लहर मात्र होइनः यसले परिवर्तनको गहिरो चाहना बोकेको छ। जनताले शुसासन, पारदर्शिता र उत्तरदायित्वको अपेक्षा गरेका छन्। यही कारणले, रास्वपाका प्रत्येक कदम अहिले सूक्ष्म रूपमा हेरिँदै छन्। यो दलका लागि यो समय ‘हनीमून पिरियड’ भन्दा बढी ‘परीक्षण काल’ हो, जहाँ वाचा र ब्यवहारबीचको दूरी नापिन्छ।

शुसासनको सवालमा रास्वपाले कस्तो उदाहरण प्रस्तुत गर्छ भन्ने कुरा निर्णायक हुनेछ। भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार र सेवा प्रवाहमा देखिने प्रत्यक्ष सुधारले मात्र जनविश्वासलाई दीर्घकालीन बनाउने छ। यदि यिनै आधारभूत अपेक्षाहरू पूरा गर्न असफल भयो भने, नयाँको आकर्षण चाँडै नै पुरानै निराशामा परिणत हुन सक्छ। यससँगै, भूराजनीतिक दबाब अर्र्को जटिल चुनौतीका रूपमा उभिएको छ। नेपालजस्तो सानो र संवेदनशील देशले अन्तर्राष्ट्रिय शक्तिहरूबीच सन्तुलन कायम राख्नु सजिलो काम होइन। यस्तो अवस्थामा रास्वपाले राष्ट्रिय हितलाई केन्द्रमा राखेर स्पष्ट र सुसंगत नीति लिनुपर्छ। अस्पष्टता वा अस्थिरता देखिएमा यसले दलको विश्वसनीयतामा गम्भीर असर पार्न सक्छ।


विशेषगरी, एसपीपी जस्ता विषयहरूले जनमानसमा शंका र बहस दुवै उत्पन्न गरेका छन्। यस्ता संवेदनशील मुद्दामा सरकारको अडान पारदर्शी, तथ्यमा आधारित र राष्ट्रिय स्वाभिमानसँग मेल खाने हुनुपर्छ। कुनै पनि निर्णय केवल कूटनीतिक दबाबका आधारमा नभई दीर्घकालीन राष्ट्रिय हितलाई ध्यानमा राखेर गरिनु आवश्यक छ।

अन्ततः, रास्वपाको राजनीतिक भविष्य यसको अडान र कार्यशैलीमा निर्भर रहनेछ। जनताले अब भाषण होइन, परिणाम हेर्न चाहन्छन्। यदि यो दलले आफ्ना प्रतिबद्धतालाई ब्यवहारमा उतार्न सक्यो भने, यसले नेपालको राजनीतिक संस्कारमा नयाँ अध्याय सुरु गर्न सक्छ। अन्यथा, यो पनि क्षणिक उत्साहको एउटा उदाहरण मात्र बनेर सीमित हुने खतरा रहन्छ। यसैले,आशा र आशंकाबीच उभिएको रास्वपाका लागि अहिलेको समय अत्यन्त निर्णायक छ—जहाँ प्रत्येक निर्णयले यसको भविष्यको दिशा तय गर्नेछ। साभारः अग्रिम साप्ताहिक