एकीकरणबाट भएको उपलब्धि र क्षति

आजाद खड्का
‘वस्तुतः केन्द्रीकृत सामन्ती राज्यसत्ताको उदयको पूर्वसन्ध्यासम्म कतिपय सामन्ती राजा, रजौटा र कविलाई गणतन्त्र बीचको संघर्ष र सम्झौतामा त्यो प्रक्रियाले काम गरिरहेको देखिन्छ । समाजमा वर्ग विभाजनको विकास सँगसँगै तुलानात्मक रूपले बलिया सामन्ती राजाहरूले आफ्नो परिभाषा दैवी अवतारका रूपमा दिन थालेको पाइन्छ । राजा जो पहिला जनताद्वारा छानिने सामान्य कविला नायक भन्दा बढी केही हुदैनथे । अब क्रमशः बलियो हुँदै गएर देव अवतारका रूपमा स्थापित बन्ने क्रम बढेर गयो । राजा र सत्ताबारे दैवी सिद्धान्तको विकाससँगै नेपालमा जमिनमाथि राजाको पूर्ण अधिकारको सिद्धान्त पनि स्थापित गर्दै आएको पाइन्छ ।

यो प्रक्रियाको विकाससंगै कविला नायकको पहिलेको पद सामन्तबाट महासामन्त, महासामन्तबाट राजा, राजाबाट महाराजा, महाराजाबाट महराजधिराज र महाराजाधिराजबाट नरनारायण बन्न पुगेको देखिन्छ ।’ (पुष्पलाल श्रेष्ठः नेपालमा राजतन्त्रको उत्पत्ति….) केन्द्रिकृत एकात्मक सामन्ती राज्य व्यवस्थाको नेपालको रूपमा र उदय पृथ्वी नारायण शाहको नेतृत्वमा भएको हो । त्यो भन्दा पहिले स–साना सामन्ती राजा रजौटा र कविलाई गणतन्त्रका बीच संघर्ष र सम्झौता वाहेक अरू केही थिएन ।

ती समाजमा वर्ग विभाजनको विकास सँग–सँगै विभिन्न समूह वा स–साना राज्यमा विभाजित रहेका तुलानात्मक रूपले बलिया सामन्ती राजाहरूले आफुलाई दैवी अवतारका रूपमा दिन परिभाषित गर्ने थालेको कुरा पुष्पलाल श्रेष्ठको विश्लेषणवाछ बुझ्न सकिन्छ । उतिबेला राजा भनेको जनताद्वारा छानिने सामान्य कविला नायक भन्दा भएको थाहा हुदैन ।

नेपालको एकीकरण “उत्पादक शक्तिको सामान्य विकासले माग गरिरहेको नयाँ उत्पादन सम्बन्धको आवश्यकताले देशमा विद्यमान स–साना राजा, रजौटा र कविलाई गणतन्त्रको उपस्थिति अनावश्यक बन्दै गयो । यो वस्तुगत आवश्यकताले एउटै बलियो केन्द्रीकृत सामन्ती राज्यसत्ताको विकास हुन पुग्यो । नवोदित कमजोर राज्य भएर पनि गोरखाका पृथ्वीनारायण शाहको सामन्ती राज्य विस्तार अभियानले सफलता प्राप्त गर्नुका पछाडि सबै वस्तुगत आवश्यकताले काम गरेको तथ्यलाई अवमूल्यन गर्नु ऐतिहासिक भौतिकवादलाई नै नबुझ्नु मात्र ठर्हछ। यहाँ यो स्मरणीय छ कि सामन्ती निरंकुश राजतन्त्रको विकास सम्बन्धी नेपाली प्रक्रिया फ्रेडरिक एंगेल्सले परिवार, निजी सम्पत्ति र राज्यसत्ताको उत्पत्तिमा गरेको अनुसन्धान र संश्लेषणसँग मेलखान्छ ।” (नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का ऐतिहाँसिक दस्तावेजहरू, पृ. १६६)

राज्य विस्तारका उपलब्धि
पृथ्वी नारायण शाहको राज्य विस्तार एवं एकीकरण अभियानले भौगालिकरूपमा २२ से २४ से स–साना भुरे टाकुरे राज्यहरूलाई एकीकृत गरेर समग्र नेपाल निर्माण भएको र अहिले हामी त्यहि नेपालमा राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक रूपान्तरणको अभियान चलाएका छौं । यो विशाल नेपाल निर्माणको श्रेय मुख्यतया पृथ्वी नारायण शाहमा जान्छ । यो राज्य विस्तार अभियानको उपलब्धि हो ।

यहि देशलाई हामी अहिले समृद्व गर्ने अभियानमा छौं । यो भौगोलिक एकीकरणको ऐतिहासिक उपलब्धि हो । यहि देशमा र हाम्रो उदेश्य तय भएको छ । हाम्रो पवित्र उदेश्य ४५० वर्ष पहिले नै सामन्तवादको अन्त्य गर्दै पुँजीवादमा प्रवेश गरेको युरोप र अमेरिकासंग हामी ४५० वर्ष पछि वि.सं. २०५२ फागुन १ गतेबाट सुरू भएर २०६३ मंसिर ५ गते सम्म चलेको ऐतिहाँसिक महान सशस्त्र जनयुद्वको जगमा र २०६२/६३ को १९ दिने जन आन्दोलनका वलमा पुँजीवादमा प्रवेश गरि २१ औं शताब्दीमा संसारसंग प्रतिस्पर्धा गर्न लायक बनाउनु हो ।

उत्पादनका निम्ति संघर्ष, वर्ग संघर्ष र प्रयोगका निम्ति मानवसमाजले संघर्ष गर्ने क्रममा भिषण संघर्ष गर्नु परेको तथ्य हाम्रो सामु ईतिहास कायम छ । ईतिहास सम्बन्धी ज्ञान नभएका वा ज्ञान भएर पनि जनसमुदायलाई वेवकुव वबनाएर शासन र शोषणको सपना बुनि रहेका रविन्द्र मिश्र जस्ता नियत खराव भएका पात्रहरूले जनयुद्वलाई मानवता विरोधी अपराधकारूपमा प्रस्तुत गर्न सक्लान । तर, वर्ग संघर्षको नियम यस्तै छ । युरोप र अमेरिकामा भएको सामन्तवाद विरोधी पुँजीवादी आन्दोलनमा हजारौं–लाखौ मानिसहरूले जीवनको आहुति दिन प¥यो ।

४५० वर्ष पहिले ती सबै मुलुकहरूमा सामन्ती राज्यसत्ताले चरम दमन गरेको हो । दमनका विरुद्व त्यतिबेलाका पुँजीवादहरूले दमनको चर्काे प्रतिरोध गर्नु परेको थियो । प्रतिरोधपूर्ण आन्दोलनमा राज्यसत्ताले रक्तपातपूर्ण नरसंहार गरेको हो । मानवसमाजकै ईतिहास रक्त रण्जित छ । जतिबेलासम्म वर्ग रहन्छ, त्यतिबेलासम्म शोषण चलिरहन्छ । समाजमा वर्गिय शोसन रहुन्जेल वर्ग संघर्ष चली रहेको छ । समाज विज्ञानको नियम यस्तै छ ।

राज्य विस्तारको क्षति
जनाधिकारको अपहरण : “यसरी केन्द्रीकृत सामन्ती राज्यसत्ताको विकाससँग नेपालमा राजतन्त्रले पनि पूर्ण निरंकुश चरित्र ग्रहण ग¥यो । आर्थिक, राजनैतिक र प्रशासनिक सबै शक्ति दरबारमा केन्द्रीत हुन पुग्यो यो केन्द्रीकरणसँगै सत्ता र सम्पत्तिका निमित्त विभिन्न सामन्ती सरदारहरूका बीचमा दरबारभित्रै भीषण टक्कर, हिंसा र प्रतिहिंसाको प्रक्रिया चल्न शुरू भयो । यसले नेपालमा एकातिर ठूलठूला भूमिपति सामन्ती भाइभारदारजस्ता घरानाहरूको जन्म गरायो ।

अर्काेतिर दरबारमा आफ्नो शक्तिका निमित्त हिंसात्मक झडपहरूलाई विकास गरायो । पाण्डे, थापा र कुँवर जस्ता घरानाहरू र उनीहरू बीचको आपसी टक्करलाई त्यसकै परिणामका रूपमा बुझ्न सकिन्छ । यो विकाससँगै जनताका भाषिक, धार्मिक, साँस्कृतिक, आर्थिक र राजनैतिक सबै अधिकारहरू खोसिदै गए । राज्यले साम, दाम, दण्ड, भेदको नीतिद्वारा हिन्दू सामन्ती उच्च जातीय अहंकारवादलाई स्थापित गर्दै लग्यो ।” (उहि पृष्ठ १६७) हाम्रो राज्य विस्तार अभियान भौगोलिक एकीकरण त भयो । तर, राज्य विस्तारसंगै जनताका राजनीतिक, आर्थिक, सांस्कृतिक, भाषिक र धार्मिक अधिकारहरू अपहरण हुने पुगे ।


एकीकृत नेपालले जनताको अवहरित अधिकारहरू पूर्णरूपले फिर्ता गर्नुपर्छ । एकात्मक राज्यलाई संघात्मक बनाउनु, हिन्दु राष्ट्रलाई धर्म निरपेक्ष राष्ट्र बनाउनु, समानुपातिक निर्वाचन प्रणाली र समावेसी राज्यको व्यवस्था गर्नु पनि अपहरित जनताका अधिकारलाई जनतामा नै फिर्ता गरेको हो ।

अपहरित अधिकार फिर्ता माग्दा थारू जेलमा
यहि अपहरित अधिकार थारूहरूले पनि माग गर्दै आन्दोलन भयो । राज्यसत्ताले म फिर्ता गर्दैन भन्दै दमान ग¥यो । थारूहरूले दमनको प्रतिरोध गरे । प्रतिरोध आन्दोलनमाथि नरसंहारपूर्ण रक्तपातको बाटो राज्यले लियो । राज्य कमजोर भयो । राज्यपक्षका ७ जना प्रहरी मारिए । हुलदंगामा भव्य तव्यले २ वर्षिय बालकको पनि ज्यान गयो । अपहरित अधिकार फिर्ता माग्दा आज रेशम चौधरी जेलमा छन् । राज्यले उनीलाई तत्काल रिहाई गर्नुपर्छ ।

समस्या राष्ट्रिय आत्मसमर्पणवाद
“यहाँ ध्यान दिनु पर्ने अर्काे महत्वपूर्ण पक्ष हो– जतिबेला नेपालमा केन्द्रीकृत सामन्ती राज्य विस्तारको अभियान चलिरहेको थियो, ठीक त्यति नै बेला भारतमा अंग्रेजी पूँजीपतिवर्गको विस्तार अभियान पनि आफ्नो उत्कर्षतिर गइरहेको थियो । भारतमा रहेका सैयौं सामन्ती राजा र रजौटाहरूलाई फुटाउँदै र आक्रमण गर्दै आफ्नो औपनिवेशिक साम्राज्य कायम गर्न अंग्रेजहरू सफल हुँदै गएका थिए । यो दोहोरो राज्य विस्तारको अभियान एउटा विन्दुमा गएर टकराउनु नितान्त अनिवार्य र स्वभाविक थियो । पूर्वमा टिस्टा, पश्चिममा काँगडा र दक्षिणमा लखनाउ, गोरखपुरसम्म राज्य विस्तार गर्दै अगाडि बढिरहेको नेपाली अभियानले अंग्रेज भारतकै निमित्त खतराको घण्टी बजाइरहेको थियो ।

त्यो स्थितिमा अंग्रेज शासकहरूले आफ्नो पूँजी, प्रविधि र सैन्य बलको श्रेष्ठता सहित पूरै तयारीका साथ नेपालका विरुद्ध युद्धको घोषणा गरे । दुवै पक्षका बीच घमसान युद्ध भइ छाड्यो । कैयौं मोर्चामा नेपालले अंग्रेजको आधुनिक सेनालाई पराजित पनि ग¥यो । ती युद्धहरूमा नेपालका बाल, बृद्ध, महिला एवं जवानहरूले देशको निम्ति त्याग, वीरता र बलिदानका ऐतिहासिक कीर्तिमानहरू पनि खडा गरे । तर, अन्ततः नेपाल पराजित भयो र अत्यन्त लज्जाजनक सन्धिमा हस्ताक्षर गर्न पुग्यो ।”

यहाँ हामी बुझ्नुपर्ने कुरा के रहेको छ भने –“केवल पूँजी, प्रविधि र सैन्य बलको श्रेष्ठताको कारणले मात्र नेपालले त्यति ठूलो पराजय भोग्नु परेको होइन । त्यसको वास्तविक मूलकारण केन्द्रीकृत सामन्ती राज्यसत्ताको विकाससँगै दरवारमा विकास भएको भोग, विलास, ऐश, आराम तथा शक्तिका निमित्त विभिन्न सामन्ती भाइचारहरूका बीचको हिंसात्मक झडपको अन्त्यहिन शृंखला र जनअधिकार अपहरणको प्रक्रिया हो ।

कम से कम पृथ्वीनारायाण शाहले राज्य विस्तारको क्रममा अपनाएको आश्चर्यको कार्यनीति, जनपरिचालनको तरिका र दीर्घकालीन युद्धको रणनीति मात्र अपनाएको भए पनि त्यसप्रकारको लज्जाजनक पराजय नेपालले भोग्नु पर्ने थिएन । तर, यसको विपरीत राजाको सनक र भारदारिया षडयन्त्रले तुलनात्मक रूपले देशभक्ति पूर्ण भावना राख्ने र अंग्रेजका विरुद्ध एशिया स्तरको संयुक्त मोर्चाको परिकल्पना गर्ने भिमसेन थापा लगायतका देशभक्तहरूमाथि भीषण हमला गर्न पुगे । अन्ततः दरवारमा अंग्रेज भारतको दलाल जंगबहादुर कुँवर घरानाको विजय भयो र १०४ वर्षसम्म उनीहरूको निरंकुश जहाँनिया शासन कायम हुन पुग्यो । यो पूरै अवधि जनाधिकारका दृष्टिले सर्वाधिक कालो अवधिका रुपमा रह्यो । (उही पृ.१६७)

वास्तविक राष्ट्रिय एकता
हामीलाई नेपालको वास्तविक एकता वा एकीकरण चाहिएको छ । भौगोलिकरूपमा विशाल देश नेपाल निर्माण गर्दा हुन गएका कमजोरीहरू सच्याएर मात्र वास्तविक राष्ट्रिय एकता वा एकीकरणको महत्वलाई पूर्णरूपले प्रदर्शन गर्न सक्छौं । त्यो भनेको “केन्द्रीकृत सामन्ती निरंकुश राजतन्त्र र जहाँनिया राणा शासनको अवधिमा पहिले आन्तरिक रूपमा विभिन्न जाति, जनजाति र क्षेत्रका जनताको भाषा, धर्म, साँस्कृतिक मान्यता एवं आर्थिक, राजनैतिक अधिकारको अपहरण गरेर तथा पछि बाह्य रूपमा अंग्रेज भारतका अगाडि आत्मसमर्पण गरेर राष्ट्रिय एकताको शक्तिलाई कमजोर पार्दै लगियो ।

आज हामी जब वास्तविक राष्ट्रिय एकताको कुरा गर्छौं, त्यसको सिधा अर्थ आजको परिवेशमा आन्तरिक रूपले हिजो अपहरण गरिएका अधिकारहरूको पुनस्र्थापना र बाह्य रूपमा राष्ट्रिय आत्मसमर्पणवादको विरोध बाहेक अर्काे हुनै सक्दैन । (नेपाल कम्युनिष्ट पार्टी (पृ.१६८)

वास्तविक राष्ट्रिय एकता वा एकीकरणको पूर्णता त्यतिबेला मात्र संभव हुनेछ । जतिबेला भौगोलिक एकीकरण गरेर विशाल नेपाल निर्माण गर्दा राज्य सत्ताबाट जनाताका खोसिएका राजनीतिक, आर्थिक, सांस्कृतिक, भाषिक, धार्मिक अधिकारहरू पूर्णरूपले जनतामै फिर्ता गर्न सक्छौं । र, बेलायती दलाल जंग बहादुर घराना र त्यसपछिका विभिन्न विदेशी शक्तिसामु गरिएको आत्मसमर्पणको विरोध र निन्दा गर्छौं। राष्ट्रियताको रक्षा र जनताबाट खोसिएका अधिकारको फिर्ताबाट मात्र वास्तविक राष्ट्रिय एकता कायम हुनेछ । र, पृथ्वी जयन्ती मनाएको अर्थ र शानदार महत्व हुनेछ । साभार : अग्रिम साप्ताहिक