
दीपक बोहरा
तुलसीपुर,११ चैत ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.४ स्थित गुरुजजुर नमुना माध्यमिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुले आफ्ना सन्तानलाई सोही विद्यालयमै पढाउने भएका छन् । विद्यालयका प्रधानाध्यापक विष्णु कुमारी केसीका अनुसार विद्यालय ब्यबस्थापन समिति, शिक्षक अभिभावक संघ, सबै शिक्षक तथा कर्मचारीहरुको आइतबार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।“सबैले स्वतःस्फूर्त रुपमा निर्णय गरेका हौं, सबैले यही विद्यालयमा आफ्ना सन्तानलाई पढाउने गरि निर्णय गरेका छौं”,उनले भनिन् “यसले सामुदायिक विद्यालयको शिक्षा सुधारमा थप टेवा पुग्नेछ ।”
हाल विद्यालयमा ८० शिक्षक तथा कर्मचारी कार्यरत रहेको विद्यालयका सहायक प्रधानाध्यापक प्रमोद कुमार न्यौपानेले बताए । ति मध्ये केही शिक्षक, कर्मचारीका सन्तान सोही विद्यालयमा अध्ययन गरिरहेको र बाँकी शिक्षक कर्मचारीका सन्तानहरु आगामी शैक्षिकशत्र २०८३ देखि पढाउने गरि निर्णय गरिएको हो ।
२७ सय विद्यार्थी
२०११ साल फागुन ११ गते स्थापित उक्त विद्यालयमा हाल २७ सय बढि विद्यार्थी अध्ययनरत छन् । सहायक प्रधानाध्यापक न्यौपानेका अनुसार विद्यालयमा दाङसहित १५ जिल्लाका विद्यार्थीहरुले अध्यापन गरिरहेका छन् ।“हाम्रो विद्यालयमा स्थानीय भन्दा पनि बढि बाह्य जिल्लाका बालबालिकाहरु रहेका छन्”,उनले भने “विद्यालय बाहिरी जिल्लाका केन्द्र बनेको छ ।” हाल शिशु कक्षा देखि १२ सम्म सञ्चालनमा छ । शिक्षा, विज्ञान, ब्यबस्थापन, मानविकी विषयमा कक्षा ११ र १२ मा अध्यापन हुनेगर्छ । त्यस्तै तीन बर्षे कृषि बाली विज्ञान, कम्प्युटर विज्ञान, होटेल ब्यबस्थापन विषय पनि अध्यापन हुने गरेको छ । हाल विद्यालयमा विद्यार्थीहरुकालागि दुई वटा बस सञ्चालनमा रहेका छन् ।
आगामी शैक्षिकशत्रदेखि सानो भ्यान थप्ने निर्णय पनि भएको सहायक प्रधानाध्यापक न्यौपानेले बताए । भ्यान थपिएसंगै तुलसीपुर बजारको रानीजरुवा, बेलुवासहित तुलसीपुर ३ को दमारगाउँ, डाँडाखुटी, घोरानेटीलगायतका विद्यार्थी ल्याउन सकिने बताए । अभिभावकको पनि माग अत्यधिक भएकाले भ्यान थप्न लागिएको उनको भनाई छ । साथै उनले आर्थिक अभावकै कारण कुनै पनि बालबालिकाहरुको पठनपाठन नरोकियोस्, भन्ने उद्देश्यले त्यस्ता बालबालिकाहरुलाई निःशुल्क पढाउने समेत बताए । त्यस्तै खेलकूद क्षेत्रमा उत्कृष्ट , साहित्यमा उत्कृष्ट विद्यार्थीहरुलाई पनि निःशुल्क पढाइने उनले बताए । हाल विद्यालयका अंग्रेजी माध्यमबाट पठन–पाठन भइरहेको छ ।
विद्यालयमा इन्टरएक्टिभ बोर्डको सहायताबाट अध्यापन गराउने गरिएको छ । जसले शिक्षकको अनुपस्थितिमा पनि शिक्षण सिकाईलाई प्रभाबकारी बनाउने गरेको छ । त्यस्तै विद्यार्थीहरुलाई सीसी क्यामेराको माध्यमबाट सुरक्षा दिइएको छ, भने गाडीमा जीपीएर समेत जडान गरिएको छ । विद्यालयमा दृष्टिविहीन तथा शारिरीक अपाङ्गता भएका विद्यार्थीहरुलाई छुटै राखेर अध्यापन समेत गर्ने गरिएको छ ।
विदा पनि घटाईयो
विद्यालयले आगामी शैक्षिकशत्रदेखि विदा पनि घटाएको छ । यस अघि लामो विदा हुँदा अभिभावकहरुको गुनासो आउने गरेको भन्दै शनिबार बाहेक अरु दिन अध्यापन गराउने गरि विद्यालयको पात्रो तयार गरिएको सहायक प्रधानाध्यापक न्यौपानेले बताए । उनका अनुसार निजि विद्यालयले जसरी विदा दिने गरेको छन्, आफूहरुल पनि त्यही अनुसार विदा दिएको उनको भनाई छ ।



लाइभदाङ । ११ चैत्र २०८२, बुधबार ०८:२० बजे