सामूहिक खेतिः हात कठ्यांग्रिएका हुन्छन्, प्याज रोपिरहेका हुन्छन्

दीपक बोहरा,
तुलसीपुर, २४ माघ ।
हुस्सुले धपक्कै ढाकि रहेको थियो । तपतप सितका थोपा खसिरहेका थिए । तर, तुलसीपुर उपमहानगरपालिका १२ कचिलाका महिलामा त्यसको कुनै प्रवाह थिएन । एक हातमा कुटो हुन्छ, अर्को हातले छुपु–छुपु प्याजका बेर्ना रोपिरहेका हुन्छन् । कोही प्याजका बेर्नामा पानी चहारिरहेका हुन्छन्, भने केहीले जमिन सम्ह्याइरहेका हुन्छन् । त्यहाँ २५ किसानको दैनिकी अहिले त्यसरी नै वितिरहेको छ । त्यहाँ २५ महिला किसानहरु मिलेर सामूहिक प्याज खेति गर्ने गरेका छन् । रोपिसकेपछि पनि पालैपालो हेरचाह गर्दै आएका छन् ।

हरियाली कृषक आमा समूह मार्फत सामूहिक उत्पादनको अभ्यास गरिरहेका छन् । तुलसीपुरको कृषि उत्पादनका हिसाबले सबै भन्दा राम्रो क्षेत्र मानिएको कचिलामा प्याज पकेट क्षेत्र घोषणा गरेपछि त्यहाँ समूह बनाएर उत्पादनमा जोडिएको हो ।

कृषि ज्ञान केन्द्रले लगातार तीन बर्ष त्यहाँ सामूहिक प्याज खेतिकालागि आर्थिक सहयोग गर्दै आएको छ । २०७७/०७८ मा १० लाख सहयोग गरेको ज्ञान केन्द्रले ०७८/०७९ मा दुई लाख र चालु बर्षमा पाँच लाख सहयोग गरेको छ । त्यसले गर्दा पनि त्यहाँका महिलाहरुले करिब १५ विघा क्षेत्रफलमा सामूहिक खेति गर्ने गरेका छन् । गएका बर्ष मात्रै प्रत्येक महिलाको भागमा १५ क्वीन्टल प्याज भाग परेको स्थानीय विन्दू चौधरीले बताउनुभयो ।“गएको बर्ष सिंचाई अभाब पनि भयो, ढिला गरि बेर्ना रोप्यौं”,उहाँले भन्नुभयो“त्यसले गर्दा उल्लेख्य रुपमा उत्पादन भएन, एउटाको भागमा १५ क्वीन्टल मात्रै प¥यो ।” यो बर्ष उत्पादन उत्पादन बढ्ने अपेक्षा रहेको उहाँले बताउनुभयो ।

जग्गा भाडामा लिएर उहाँहरुले यसरी ब्यबसायिक प्याज खेति गर्नुभएको हो । आफै विउ तयार गरेर रोप्ने गरेको किसान दशनी चौधरीले बताउनुभयो । उत्पादन राम्रो भएपनि बजारीकरणकालागि भने समस्या हुने गरेको उहाँ गुनासो पोख्नु पर्छ ।“गएको बर्ष उत्पादन भएको प्याज हामीले विक्री गर्न निकै समस्या भयो, छिटुवामा कहिल्यै यता डुलाउने, कहिल्यै उता डुलाउने भयो”,उहाँले भन्नुभयो“पछि नबिकेपछि त्यसै घर फर्काउनु पर्ने अबस्था भयो ।”


प्याज तीन महिनामा फलिसक्छ । प्याजलाई एक लम्बरको रु.तीन सय रुपैँया बेच्ने गरेको दशनीले बताउनुभयो । यसरी सामूहिक खेति गरेरै उहाँहरुको घर चल्ने गरेको छ । छोराछोरीलाई पढाउनेदेखि दैनिक घर खर्च चलाउनेसम्मको काम गर्ने गरेको स्थानीय मिनकुमारी चौधरीले बताउनुभयो ।

उनीहरुले ति जग्गामा प्याज मात्रै सामूहिक गर्ने गर्छन्, त्यसपछिका खेतिहरु भने सम्बन्धिन जग्गा धनीले मात्रै लगाउने गर्छन् । आफूहरुले प्याजको सिजनमा मात्रै जग्गा भाडामा लिएको उहाँले बताउनुभयो ।“प्याजको सिजनमा हामीले जग्गा भाडामा लिन्छौं”,उहाँले भन्नुभयो“त्यो भन्दा अन्य बालीमा सम्बन्धित जग्गा धनीले नै लगाउने गर्छन् ।” कचिलाका खेतहरुमा बर्षमा तीन सिजनमा तरकारी उत्पादन हुने गरेको वडाध्यक्ष खुसीराम चौधरीले बताउनुभयो ।

प्याजको सिजनपछि त्यहाँ मकै खेति हुनेगर्छ, भने मकै उत्पादन पछि आलु खेति हुनेगर्छ । प्याजमा पकेट क्षेत्र बनाएर कृषि ज्ञान केन्द्रले सहयोग गरेपछि सहज भएको अध्यक्ष चौधरीको भनाई छ । उहाँका अनुसार ज्ञान केन्द्रले आर्थिकसंगै औषधी, मल, विउमा पनि सहज हुँदै आएको छ । बजारीकणमा देखिएको समस्या भने अत्याधिक छ । राति ३ बजे उठेर यहाँका महिलाहरु बजारमा उत्पादन सामग्री लिएर जान्छन् । तर, भारतीय तरकारीका कारण यहाँ उत्पादन भएको तरकारी विक्री नहुँदा फर्काएर ल्याउनु पर्ने अबस्था छ ।