राप्तीमा कृषकलाई माटो सुधार तथा विषादी प्रयोगसम्बन्धी सचेतना तालिम प्रदान

मसुरिया, ९ चैत।
दाङको राप्ती गाउँपालिकाले कृषकहरुलाई लक्षित गर्दै माटो सुधार तथा रासायनिक विषादीको सुरक्षित प्रयोगसम्बन्धी सचेतनामूलक तालिम प्रदान गरेको छ।

मंगलबार वडा नम्बर ५ पहरुवामा उक्त कार्यक्रम आयोजना गरिएको हो। यसअघि वडा नम्बर ६, ७ र ८ मा तालिम सम्पन्न भइसकेको छ भने बाँकी अन्य वडाहरुमा पनि क्रमशः सञ्चालन गरिने कृषि शाखा प्रमुख बरसाती गडरियाले जानकारी दिनुभयो। कृषि उत्पादनको गुणस्तर वृद्धि, माटोको उर्वराशक्ति संरक्षण तथा मानव स्वास्थ्य र वातावरणमा पर्ने नकारात्मक असर न्यूनीकरण गर्ने उद्देश्यसहित तालिम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।

तालिममा कृषकहरुलाई जैविक मलको प्रयोग, माटोको स्वास्थ्य जोगाउने उपाय, साथै रासायनिक विषादीको सही मात्रा, समय र सुरक्षित प्रयोग विधिबारे जानकारी प्रदान गरिँदैछ। साथै विषादी प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी र त्यसले मानव स्वास्थ्य तथा वातावरणमा पार्ने असरबारे समेत जानकारी दिइएको छ।


कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले कृषकलाई आधुनिक तथा सुरक्षित कृषि अभ्यासतर्फ उन्मुख गराउन यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो। उहाँले उत्पादन वृद्धि सँगसँगै स्वास्थ्य र वातावरण संरक्षणलाई प्राथमिकतामा राखेर गाउँपालिकाले कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्नुभयो।

उहाँले पछिल्लो केही महिनायता क्यान्सर, मृगौला खराबी जस्ता रोगहरु बढ्दो रूपमा देखापर्न थालेकोप्रति चिन्ता व्यक्त गर्दै यस्ता रोगहरुको एक प्रमुख कारण असुरक्षित रूपमा अत्यधिक मात्रा प्रयोग गरिने रासायनिक विषादी हुन सक्ने बताउनुभयो। अध्यक्ष विष्टले विषादीको प्रयोग नगरी सकेसम्म जैविक मलको प्रयोग गर्न कृषकहरुलाई आग्रह गर्दै स्वस्थ उत्पादनतर्फ उन्मुख हुनुपर्नेमा जोड दिनुभयो। उहाँले स्वस्थ जीवनका लागि खानपिन र जीवनशैलीमा विशेष ध्यान दिन आवश्यक रहेको उल्लेख गर्नुभयो।

त्यस्तै, वडा अध्यक्ष देवप्रसाद चौधरीले कृषकहरुमा विषादी प्रयोगसम्बन्धी पर्याप्त ज्ञानको अभाव रहेको बताउँदै सही तरिका नअपनाई जथाभावी विषादी प्रयोग गर्दा उत्पादनसँगै मानव स्वास्थ्यमा समेत गम्भीर असर पर्ने बताउनुभयो। उहाँले सबै कृषकलाई सुरक्षित र दीगो कृषि अभ्यास अपनाउन आग्रह गर्नुभयो।