लमहीमा खानेपानी, सरसफाई तथा स्वच्छता योजना प्रमाणीकरण कार्यशाला सम्पन्न

प्रिया स्मृती गजमेर
देउखुरी,७ चैत ।
लमही नगरपालिकामा खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी योजना प्रमाणीकरण कार्यशाला सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यशालामा सरोकारवाला निकाय र प्राविधिकहरुको सहभागिता रहेको थियो ।

कार्यशालामा नगरभित्रको वर्तमान खानेपानी तथा सरसफाई अवस्थाको समिक्षा गर्दै तयार गरिएको योजना मस्यौदामाथि विस्तृत छलफल गरिएको थियो । सरकारवाला निकायका तर्फबाट सहभागीहरुले योजना कार्यान्वयनका लागि आवश्यक सुधार, प्राथमिकता निर्धारण तथा व्यवहारिक पक्षहरूबारे सुझाव दिएका थिए ।

कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख जोगराज चौधरीले स्वच्छ खानेपानी र सरसफाईलाई नागरिकको आधारभूत अधिकारको रूपमा स्थापित गर्न आवश्यक रहेको बताउँदै योजनाको प्रभावकारी कार्यान्वयनमा सबैको सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गर्नु भएको छ । उहाँले दिगो विकास लक्ष्य हाँसिल गर्न सरसफाई र स्वच्छताको क्षेत्रमा निरन्तर लगानी र जनचेतना अभिवृद्धि आवश्यक रहेकोमा जोड दिनु भएको छ ।

त्यसैगरी लमहीमा खानेपानी, सरसफाई तथा स्वच्छता योजना प्रमाणीकरण योजनाको काम गरिरहेका प्राविधिकहरूले योजना कार्यान्वयनका चरण, सम्भावित चुनौती र समाधानका उपायहरूबारे प्रस्तुति दिएका थिए । कार्यशालाबाट प्राप्त सुझावका आधारमा योजना अन्तिम रूप दिई कार्यान्वयनमा लैजाने उनीहरुको भनाई छ ।

लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले कार्यशालाले नगर क्षेत्रमा सुरक्षित खानेपानी पहुँच विस्तार, खुला दिसामुक्त अवस्थाको दिगोपना तथा सरसफाई व्यवहार सुधारमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरेको बताउनु भयो । साथै उहाँले स्थानीय स्तरमै दिगो र गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्न यस्ता कार्यशालाले महत्वपूर्ण भूमिका खेल्ने आफुले अपेक्षा गरेको बताउनु भयो ।


प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले स्वच्छता योजना स्थानीय आवश्यकतामा आधारित हुनु पर्ने उल्लेख गर्दै यसको सफल कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना, स्रोत व्यवस्थापन र नियमित अनुगमन आवश्यक रहेको बताउनुभयो । उहाँले योजनालाई प्रभावकारी रूपमा लागू गर्न वडा तहदेखि समुदायस्तरसम्मको सहभागिता सुनिश्चित गरिने र सरोकारवाला निकायबीच समन्वयलाई थप सुदृढ गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

दिगो विकास लक्ष्य (SDG) हासिल गर्न, स्थानीय तहबाट प्रदान गरिने सेवाको गुणस्तर अभिवृद्धि गर्नुका साथै बजेट तथा स्रोतहरूको प्रभावकारी व्यवस्थापन अपरिहार्य बनेको छ ।

संघीय शासन व्यवस्थाको कार्यान्वयनसँगै सेवा प्रवाहको प्रमुख जिम्मेवारी स्थानीय तहमा हस्तान्तरण भएकाले अब स्थानीय स्तरमै सक्षम र सुदृढ प्राविधिक संरचना विकास गर्नु अत्यावश्यक भएको छ ।

यही आवश्यकतालाई मध्यनजर गर्दै खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रलाई व्यवस्थित, प्रभावकारी र दिगो बनाउन स्थानीय तहमा खासस्व एकाइको स्थापना महत्वपूर्ण मानिन्छ ।

खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाहरूको दिगोपन सुनिश्चित गर्न खासस्व योजना एक प्रमुख मार्गदर्शक दस्तावेजको रूपमा रहन्छ । यसले योजना निर्माणदेखि कार्यान्वयन, अनुगमन तथा मूल्यांकनसम्मका सम्पूर्ण प्रक्रियालाई व्यवस्थित र परिणाममुखी बनाउन महत्वपूर्ण भूमिका खेल्दछ । कार्यक्रमको संचालन खानेपानी वास फोकल पर्सन गायत्री थापाले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।