लमहीमा चैत १५ देखि ‘मेयर कप’ खेलकुद प्रतियोगिता सुरु हुने

प्रिया स्मृती गजमेर
देउखुरी, चैत ३
लमही नगर निर्माण, महाअभियानू अन्तर्गत जेनजीहरुको मागलाई मध्यनजर गर्दै लमही नगरपालिकामा यही चैत १५ गतेदेखि ‘मेयर कप’ खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । नगर कार्यपालिकाको आज बसेको बैठकले उक्त प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो । नगर प्रमुख जोगराज चौधरीका अनुसार युवालाई खेलकुदतर्फ आकर्षित गर्दै स्वस्थ र सक्रिय समाज निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतियोगिता अन्तर्गत क्रिकेट, फुटबल र ब्याडमिन्टन गरी तीन विधाका खेल समावेश गरिएका छन् । प्रतियोगिताको लागि सूर्योदय युवा क्लब लमही ३, फल्कापुर, क्रिकेट प्रतियोगिता देउखुरी क्रिकेट क्लब लमही ५ र फुटबल प्रतियोगिता न्यु डाँफे युवा क्लब लमही ४, चैलाहीले पेश गरेका प्रस्तावहरू कार्यपालिकाले अनुमोदन गरेको हो ।


तीनवटै खेलको उद्घाटन कार्यक्रम चैत १५ गते संयुक्त रूपमा गरिने लमही नगरपालिका शिक्षा शाखा प्रमुख केशब लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार क्रिकेट प्रतियोगिता देउखुरी क्रिकेट अन्तर्राष्ट्रिय स्टेडियममा, ब्याडमिन्टन प्रतियोगिता देउखुरी ब्याडमिन्टन कभर्ड हलमा तथा फुटबल प्रतियोगिता लमही ६ स्थित सिसौ बगरमा सञ्चालन हुने छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूको दर्ता निःशुल्क गरिएको छ । साथै, खेलाडीहरू लमही नगरपालिकाभित्र स्थायी रूपमा बसोबास गर्ने हुनुपर्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाले यस प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको विकास, प्रतिभा पहिचान तथा युवामा सकारात्मक ऊर्जा अभिवृद्धि हुने विश्वास व्यक्त गरेको छ ।