
मसुरिया, ३ चैत।
दाङको राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको आठौँ अधिवेशन (हिउँदे अधिवेशन) मंगलबार सम्पन्न भएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ तथा लुम्बिनी प्रदेशको गाउँसभारनगरसभाको (कार्य सञ्चालन) कार्यविधि, २०७६ को दफा ३९१० बमोजिम गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न अधिवेशनले विभिन्न विधेयकहरू पारित गरेको छ।
गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरीले पेश गर्नुभएको आर्थिक वर्ष २०८२र८३ को बजेट तथा कार्यक्रमको रकमान्तर प्रस्ताव, २०८२ तथा राप्ती गाउँपालिकाको आर्थिक वर्ष २०८२र८३ को आय–व्ययको संशोधित अनुमान प्रस्ताव सभामा छलफलपछि पारित गरिएको हो।
त्यसैगरी, सभा सदस्य तथा आर्थिक विकास समिति संयोजक गेमे खड्काले पेश गर्नुभएको राप्ती गाउँपालिकाको व्यवसाय दर्ता विधेयक, २०८२ र सभा सदस्य तथा सामाजिक विकास समिति संयोजक पहलवान चौधरीले पेश गर्नुभएको राप्ती गाउँपालिकाको दलित सशक्तीकरणसम्बन्धी व्यवस्था विधेयक, २०८२ समेत सभाबाट पारित भएका छन्।
यस्तै, सभा सदस्य तथा सुशासन विकास समिति संयोजक देवप्रसाद चौधरीले पेश गर्नुभएको कर्मचारीहरूको सेवा, सुविधा तथा शर्तसम्बन्धी राप्ती गाउँपालिकाको करार सेवा विधेयक, २०८२ र राप्ती गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०८२ पनि छलफलपछि पारित भएका छन्।
सभामा पेश गरिएका विधेयकहरू बैठकमा विस्तृत छलफलपछि गाउँपालिका अध्यक्ष तथा सभा अध्यक्ष प्रकाश विष्टले निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो। ती विधेयकहरू सभा बाट सर्वसम्मत रूपमा पारित भएका हुन्।
सभाको शून्य समयमा सभा सदस्यहरूले जनतासँग प्रत्यक्ष सरोकार राख्ने विकास निर्माण, सेवा प्रवाह तथा जनजीविकासँग सम्बन्धित विविध विषयहरू उठान गर्नुका साथै सोसँग सम्बन्धित रचनात्मक सुझावहरू समेत राख्नुभएको थियो।
सभाका अध्यक्षसमेत रहनु भएका गाउँपालिका अध्यक्ष प्रकाश विष्टले गाउँपालिकाको समग्र विकास, सुशासन प्रवर्द्धन तथा जनताको जीवनस्तर सुधारका लागि गाउँपालिका निरन्तर प्रयासरत रहेको बताउनुभयो।



लाइभदाङ । ३ चैत्र २०८२, मंगलवार १९:१६ बजे