घरदैलोमै पुगेर जन्म र मृत्यु दर्ताको प्रमाणपत्र वितरण अभियान सुरु

प्रिया स्मृती गजमेर
देउखुरी,२ चैत ।
“लमही नगर निर्माण महाअभियान” अन्तर्गत लमही नगरपालिकाले व्यक्तिगत घटना दर्तालाई सहज, छिटो र पहुँचयोग्य बनाउने उद्देश्यले घरदैलोमै पुगेर सेवा प्रदान गर्ने अभियान सुरु गरेको छ ।

नगरपालिकाले जन्म, मृत्यु लगायतका व्यक्तिगत घटनाहरू समयमै दर्ता गराउन नागरिकलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ घरघरमै पुगेर सेवा दिन थालेको हो । यस अभियानमार्फत नागरिकलाई कार्यालय धाउनुपर्ने झन्झट कम हुने र घटना दर्ता प्रणालीलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको नगरपालिकाले जनाएको छ ।

यसै क्रममा सोमबार लमही नगरपालिका वडा नं. ६ मा केही दिनअघि सवारी दुर्घटनामा परी निधन भएका दीपक पोख्रेल र देउपुर निवासी हरिराम चौधरीको मृत्यु दर्ता गरी परिवारलाई प्रमाणपत्र हस्तान्तरण गरिएको छ । सो अवसरमा दिवंगत पोख्रेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरिएको थियो ।

घटना दर्ता कार्यक्रममा नगर प्रमुख जोगराज चौधरी, उपप्रमुख लक्ष्मी योगी, प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी तथा वडा अध्यक्ष श्यामनारायण चौधरी, वडा सचिव बिन्तिराम चौधरी लगायतको उपस्थिति रहेको थियो ।


कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले व्यक्तिगत घटना दर्ता नागरिकका आधारभूत अधिकारसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको बताउनुभयो । उहाँले जन्म, मृत्यु, विवाह तथा बसाइँसराइ जस्ता घटनाहरू समयमै दर्ता गराउनु आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार घटना दर्ता नागरिकताको प्रमाण, सामाजिक सुरक्षा भत्ता, शैक्षिक सेवा तथा अन्य प्रशासनिक सुविधा प्राप्त गर्नका लागि महत्वपूर्ण आधार मानिन्छ ।

घरदैलोमै पुगेर सेवा प्रदान गर्दा नागरिकलाई सहजता मिल्नुका साथै सबै नागरिकलाई घटना दर्ताको दायरामा ल्याउन सहयोग पुग्ने लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले बताउनु भयो ।

हालका लागि यस अभियान अन्तर्गत जन्म दर्ता र मृत्यु दर्ता सेवा घरमै पुगेर प्रदान गर्न सुरु गरिएको छ । लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डाँगीका अनुसार नागरिकलाई घटना घटेको ३५ दिनभित्र सम्बन्धित वडा कार्यालयमा पुगेर अनिवार्य रूपमा दर्ता गराउन प्रेरित गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो ।

उहाँले प्रायः नागरिकहरू ३५ दिन नाघेपछि मात्रै दर्ता गर्न आउने प्रवृत्ति रहेको उल्लेख गर्दै यस अभियानले नागरिकलाई समयमै दर्ता गर्न सचेत गराउने र ढिलाइका कारण लाग्ने जरिवाना न्यूनिकरण गर्न मद्दत पुग्ने बताउनु भयो ।