पालिकाको कार्यालयमा स्थानीय स्तरमै बनेका कुर्सी प्रयोग

दाङ,२९ फागुन ।
दाङको राप्ती गाउँपालिकाले स्थानीय स्तरमै बनेका कुर्सी प्रयोग गर्ने गरेको छ । कार्यालयले बाँसबाट बनेका कुर्सी प्रयोगमा ल्याईएको छ । हाल पालिका अध्यक्ष प्रकाश विष्टको कार्यकक्षमा ति कुर्सीहरु प्रयोगमा ल्याईएको हो । राप्ती गाउँपालिका ५ स्थित करंगेकोटका स्थानीयले बनाएका बाँसका कुर्सी प्रयोगमा ल्याईएको पालिका अध्यक्ष विष्टले बताउनुभयो । “स्थानीय उत्पादनलाई प्रत्साहन गर्ने हाम्रो उद्देश्य हो, विगतदेखि नै त्यसरी नै काम गर्दै आएका छौं”,उहाँले भन्नुभयो“अहिले हामीले बाँसबाट बनेका कुर्सीलाई कार्यालयमा प्रयोगमा ल्याएका छौं ।” राप्ती गाउँपालिकाले उद्यमशिलता र आर्थिक विकासका लागि विपन्न युवा तथा महिलाहरुलाई बाँसबाट फर्निचर बनाउने सीप विकास तालिम प्रदान गरेपछि स्थानीयले यसरी बाँसका फर्निचर बनाउन सुरु गरेका हुन् ।

उनीहरुले रम्तेल श्रमिक सहकारी संस्था स्थापनाको तयारी समेत थालेका हुन् । गाउँघरमा प्रशस्त पाइने बाँसबाट सामाग्री बनाएर आम्दानी गर्न सकिने उनीहरुको विश्वास छ । उनीहरुले मुढा,कुर्सी, टेबललगायतका फर्निचरका सामग्री निर्माण तालिम लिएका हुन् । स्थानीय रूपमा पाइने वस्तुबाट विभिन्न सामग्री बनाउँदा एकातिर आत्मनिर्भर हुने र अर्कातिर परम्परागत सीपको पनि संरक्षण हुने भन्दै यस्तो कार्यलाई आफूहरुले प्रोत्साहन गरेको अध्यक्ष विष्टले बताए ।

सीप र प्रविधिको अभावका कारण खेर गइरहेका बाँसको सदुपयोगबाट निम्न आर्थिक आय भएका नागरिकहरुको जीवन स्तर बदलिने विश्वास व्यक्त गरे । त्यस्तै राप्ती आधारभूत अस्पतालमा पनि सल्लाका कुर्सीहरु प्रयोग गरिएको छ ।


अस्पताल विकास समितिका अध्यक्ष समेत रहेका अध्यक्ष विष्टले स्थानीय उत्पादनको प्रयोग गर्नुपर्ने पालिकाको नीति अनुरुपले यसरी स्थानीय स्तरमै बनेका फर्निचरका सामग्री प्रयोग गरेको बताउनुभयो । “नेपालीहरुको खासमा देखासिकी गर्ने चलन छ, विदेशमा बनेको फर्निचरहरु हामीलाई प्यारो लाग्छ”,उहाँले भन्नुभयो“स्थानीय स्तरमा उत्पादनलाई प्रबद्र्धन गर्ने दायित्व हो , त्यसो भए मात्रै पालिकाको समृद्धि हुन्छ, भन्ने हाम्रो विश्वास छ ।”

कोरिया र चीनबाट आएका कुर्सीहरु महंगो पनि पर्ने उहाँले बताए ।